arrow

गगनको ह्याट्रिक, तयारी संसदीय दलको नेताको  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ६ मंगलबार
gagan-thapa-winner-kathmandu-4.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं ४ बाट ह्याट्रिक गरेका छन् । उनले लगातार तेस्रो पटक काठमाडौं ४ जित हासिल गरेका छन् । 

उनले यसपालि २०७४ सालमा भन्दा फराकिलो अन्तरले जित हासिल गरे । उनले २१ हजार ३०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । 

गगनले राजनलाई ७ हजार ४४७ मतान्तरले पराजित गरे । काठमाडौं ४ मा ४५ हजार ५०३ मत खसेको थियो । २०७४ सालमा पनि गगनले राजनलाई नै पराजित गरेका थिए । 

गगनले २१ हजार ५५८ मत ल्याएका थिए । राजनले १८ हजार १४० मत ल्याएका थिए । राजनको मत धेरै नै घटेको छ भने गगनले सन्तुलन कायम गर्न सकेको देखिएको छ । 

गगनको संसद यात्रा 
गगनको यो क्षेत्रबाट चौथो जित हो । उनी एक पटक समानुपातिक र तीन पटक प्रत्यक्षबाट निर्वाचित सांसद बनेका छन् । 

संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसका तर्फबाट उनी समानुपातिक सदस्यमा निर्वाचित भएका थिए । 

२०७० सालदेखिका लगातार तीन वटा निर्वाचनमा उनी प्रत्यक्षमा विजयी भए । २०७० को निर्वाचन जितेपछि उनी पहिलो पटक २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भएका थिए ।

अबको यात्रा
गगनले उम्मेदवार बन्नुअघि नै अबको प्रधानमन्त्रीका लागि लड्ने बताएका थिए । उनको समर्थन पनि भयो र आलोचना पनि भयो । तर उनी पछि हटेनन् । आफूले अब १० वर्षमात्रै राजनीति गर्ने भन्दै युवा अवस्थामै देशलाई अगाडि लैजाने अठोट भएको बताएका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन् । उनी आफू पनि अबको प्रधानमन्त्रीका लागि प्रमुख दावेदार हुन् । अझ ज्योतिषले सात पटक प्रधानमन्त्री हुने योग छ भनेसँगै उनी पनि छाड्ने अवस्थामा देखिँदैनन् । 

तर उनले आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छैनन् । यद्यपि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने देउवा नै प्रधानमन्त्री हुने बताउँदै आएका छन् । 

गगन भने अडिग छन् । उनले मंसिर ४ को निर्वाचनमा मत हालेपछि संचारकर्मीसँग अबको योजना के छ भी प्रश्न सोधेपछि उनले यो चुनाव जित्ने हो, त्यसपछि संसदीय दलको नेतामा लड्ने हो अनि प्रधानमन्त्री हुने हो भनी स्पष्ट लाइन दिएका थिए । 

आज चुनाव जितेपछि संचारकर्मीसँग अब संसदीय दलको नेताका लागि तयारी गर्ने बताएका छन् । अर्थात् गगनले पहिलो खुड्किलो पूरा गरे । अब निर्वाचन सकिएर सांसदहरु चुनिएपछि संसदीय दलको नेताका लागि लड्ने छन् ।

प्रधानमन्त्रीको दावेदारी भएका कारणले पनि उनी संसदीय दलको नेतामा लड्ने छन् । 

नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार प्रधानमन्त्री बन्न दलको नेता चयन हुनुपर्छ।

विशेष परिस्थितिमा भने संसदीय दलले निर्णय गरे संसदीय दलको नेता बाहेकका सांसद पनि प्रधानमन्त्री बन्न सक्ने देखिन्छ ।

तर दलभित्रको आन्तरिक शक्तिसंघर्षका कारण संसदीय दलको नेता बाहेक अर्को सांसद प्रधानमन्त्री बन्न कठिन हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ