arrow

न्यूयोर्कका मेयर र नेपालका छ नगरप्रमुखबीच आपसी सम्बन्ध र विकासबारे छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
nepal-usa-metropoliton-.jpg

काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरका मेयर र नेपालका ६ नगरपालिकाका नगर प्रमुखबीच आपसी सम्बन्ध र नेपालको विकास बारे भर्चुअल सम्वाद कार्यक्रम सम्पन्न भएको छ । 

बुधबार बिहान न्यूयोर्कका मेयर एरिक एडम्स र नेपालका आधा दर्जन मेयरहरु बिच द्धिपक्षिय हित र साझेदारीका विषयमा भर्चुअल सम्वाद कार्यक्रम सम्पन्न भएको हो । 

न्यूयोर्कमा रहेका अगुवा नेपाली समुदायको प्रयासमा भएको द्धिपक्षीय संवादबाट नेपालका नगरहरु र न्यूयोर्क शहरसँग भगिनी सम्बन्ध तथा शैक्षिक साथै सांस्कृतिक आदान प्रदानका लागि बाटो खुलेको नेपाली समुदायका अगुवाहरुले बताएका छन् । 

न्यूयोर्कका मेयर एडम्ससँगको भर्चुअल संवादमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, दोलखाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र लमजुङको सुन्दरबजार नगरका मेयर कृष्णप्रसाद कोइराला सहभागी थिए । 

द्धिपक्षीय भर्चुअल संवादमा न्यूयोर्कका मेयर एडम्सले नेपालसँग अमेरिका र न्यूयोर्क शहरको भावनात्मक सम्बन्ध रहेको बताए । उनले कोरोना माहमारीको समयमा न्यूयोर्कमा रहेका नेपाली समुदायका अगुवाहरुले माहमारी नियन्त्रणमा गरेको योगदान र सहयोगको खुलेर प्रशंसा गरेका थिए । 

कार्यक्रमको गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेका थिए । उनले नेपालका नगरहरु र न्यूयोर्कबीच भगिनी सम्बन्ध स्थापना तथा दीर्घकालीन रुपमा एक आपसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान लगायतका परियोजनाहरुमा साझेदारीका लागि भर्चुअल माध्यमबाट छलफल प्रारम्भ भएको सुनाए । 

न्यूयोर्क चेम्बर अफ कमर्शका अन्तर्राष्ट्रिय परिषद अध्यक्ष अमित शाहको अध्यक्षतामा चलेको बैठकमा नेपालका नगर प्रमुखहरुले द्धिपक्षीय सम्बन्ध र नेपाली नगरहरुको विकासबारे आ–आफ्ना धारणा राखेका थिए । 

कार्यक्रममा न्यूयोर्क शहरको मेयर कार्यालयका डेपुटी कमिसनर आइसाता कामरा, अन्तर्राष्ट्रिय सम्बन्ध कमिसनर एडवार्ड मर्मेलस्टेन, मेयरको कार्यालयका अर्का डेपुटी कमिशनार दिलिप चौहानले नेपालका नगरहरुसँगको द्धिपक्षीय सम्बन्ध, र सहकार्यबारे धारणा राखेका थिए । 

गिरिजाप्रसाद कोइराला (जीपीके) फाउडेसन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले नेपालका नगरहरु र न्यूयोर्क शहरबीच भगिनी सम्बन्ध र द्धिपक्षीय सहकार्यका लागि ढोका खुलेको प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ