arrow

डा शेखर कोइरालाको संसद यात्रा  

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
shekhar-koirala-all-in-one.jpg

मोरङ । मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाले एमालेका नेता पूर्व मन्त्री लालबाबु पण्डितलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

आज बिहान सकिएको मतगणना अनुसार कोइराला ३५ हजार २१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पण्डितले २२ हजार ९३२ मत पाएका छन् । त्यस्तै राप्रपाका गोपाल कटुवालले ८८२९ मत पाएका छन् । 

मोरङ क्षेत्र नं ६ मा १ लाख २६ हजार ७१ मतदाता मध्ये ८५ हजार ३७१ मत खसेको थियो । ८० हजार ४१७ मत सदर भएको थियो । ४ हजार ९५४ मत बदर भएको थियो । कोइरालाले १२ हजार २८६ मतअन्तर विजयी हुन सफल भएका छन् ।

२०७४ सालमा कोइराला र पण्डित मोरङ क्षेत्र नं ६ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पण्डितले कोइरालालाई ६७५ मतले मात्रै पराजित गरेका थिए । ५ वर्षपछि प्रतिनिधि सभामा यी दुवै उम्मेदवार प्रतिस्पर्धा गर्दा कोइरालाले हारको बदला लिएका छन् ।

उनी २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीतिमा आबद्ध भएका थिए । २०२८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा होमिएका थिए । 

पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनसम्म उनी केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशनमा सभापतिमा लडे । तर शेरबहादुर देउवासँग पराजित भए । सभापतिका धेरै उम्मेदवार मैदानमा भए पनि अन्तिम भिडन्त भने कोइराला र देउवाबीच भएको थियो । 

हाल पार्टीमा कोइरालाले सशक्त संस्थापन इतर समूहको भूमिका निभाइरहेका छन् । 

उनी यसअघि २०७० सालमा मोरङबाटै निर्वाचित भएका थिए । पेशाले चिकित्सक उनी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन् । 

२००७ साल भदौ ९ गते केशवप्रसाद कोइराला र नोना कोइरालाको कोखबाट जन्मेका उनले यसअघि वीर अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी अञ्चल अस्पतालमा सेवा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ