arrow

आर्थिक संकटमा दिक्तेल बहुमुखी क्याम्पस

logo
प्रकाशित २०७२ मंसिर १९ शनिबार
खोटाङ । आर्थिक अभावका कारण जिल्लाको सबैभन्दा पूरानो क्याम्पस ‘दिक्तेल बहुमुखी क्याम्पस’ सङ्कटमा परेको छ । विसं २०३७ सालमा स्थापना गरिएको क्याम्पस पछिल्लो समय आर्थिक अभावकै कारण सङ्कटमा पर्दै गएको हो । क्याम्पसमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दै जानुका साथै पुरानै शुल्क कायम रहनुले आर्थिक समस्या सिर्जना भएको क्याम्पस प्रमुख डा सुकराज राईले बताए । 

“पछिल्लो समय क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गर्नुका साथै भौतिक विकास गर्दा धेरै खर्च भयो”–उनले भने, “अहिले निराश नै हुनुपर्ने अवस्था त छैन, तर पनि आर्थिक स्थिति खस्कँदै गएको छ ।” क्याम्पसको आर्थिक अवस्था धरासयी बन्दै गएपछि गत असोजबाट प्राध्यापक तथा कर्मचारीले तबलसमेत खान नपाएको गुनासो गरेका छन् । 

क्याम्पसमा क्याम्पस प्रमुख एक, सहप्राध्यापक पाँच, उपप्राध्यापक आठ, सहायक प्राध्यापक चार र आंशिक तीन तथा कर्मचारीतर्फ शाखा अधिकृतसहित पाँच जना छन् । यस्तै, कार्यालय सहायकमा तीन जना पूर्णकालीन र एक जना ज्यालादारीमा छन् । 

क्याम्पसमा पछिल्लो समय कुशल प्रशासकको अभावमा नियमित पठनपाठन नहुनु र ३५ वर्ष पूरानो शिक्षण विधि अहिलेसम्म पनि अवलम्बन गरिनुले यस्तो समस्या आएको बताइएको छ ।  प्राध्यापकहरुले क्याम्पसलाई भन्दा निजी विद्यालयलाई प्राथमिकता दिनु, विद्यार्थीहरुले क्याम्पसलाई राजनीतिक गर्ने थलो बनाउनु, विद्यार्थीले रोजेको विषय पढाइ नहुनुलगायतले क्याम्पसको अवस्था नाजुक बन्दै गएको हो । यसबाहेक गाउँगाउँमा उमावि सञ्चालन हुनुले पनि क्याम्पसको अवस्था धरासयी बन्दै गएको हो । 

क्याम्पस स्थापना भएको ३५ वर्षपछि देविप्रसाद रिजाल नेतृत्वको सञ्चालक समितिले त्रिभुवन विश्वविद्यालयबाट अनुमोदन प्राप्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ