arrow

लमही प्रमुख प्रशासकीय अधिकृतविरुद्ध कर्मचारी आन्दोलित, कामकाज ठप्प

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर १२ सोमबार
lamahi-nagarpalika-ceo.jpg

रुपन्देही । दाङको लमही नगरपालिकामा कार्यरत कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीको विरोधमा आन्दोलित भएका छन् । 

लमहीका प्रशासकीय अधिकृत डाँगीले कर्मचारीमाथि लामो समयदेखि थिचोमिचो गरेपछि त्यहाँ कार्यरत अस्थायी तथा स्थायी कर्मचारीहरु हातमा कालो पट्टि बाँधेर कार्यकारीको विरोधमा उत्रिएका हुन् ।

पशु सेवा शाखा प्रमुख शिवराज न्यौपानले आफूहरुलाई अनावश्यक रुपमा नीति नियम, विधि पद्धति भन्दा बाहिर गएर आफुखुशी एकतर्फी काम लगाउने, कर्मचारीहरुलाई कानूनी प्रक्रिया बिना ई–हाजिरबाट नाम हटाई हाजिर हुनबाट बञ्चित गर्ने, बिहान ८ बजेदेखि राति ९-१० बजेसम्म काम गराउने, सार्वजिक बिदाको दिनमा पनि फोन गरेर बोलाउने, आनाकानी गरे कर्मचारीहरुलाई कार्यसम्पादन मुल्यांकनको डर त्राससँगै जागिर खाइदिने भन्दै अनावश्यक दवाव सृजना गर्ने गरेको दाबी गरे ।

अर्का कर्मचारी महेश ठेडी मगरले जवर्जस्ती काममा लगाउने तानाशाह प्रवृत्तिका विरुद्ध बाध्य भएर आन्दोलित हुनु परेको बताए । 

शक्ति केन्द्र रिझाउन माहिर डाँगी 
प्रमुख प्रशासकीय डाँगीले यसअघिको स्थानीय निर्वाचनवाट आएका जनप्रतिनिधि एमालेका कुलबहादुर केसी मेयर बन्दा पनि रिझाएरै हालीमुहाली गरेको कर्मचारीको आरोप छ । 

अहिले फेरि नेपाली कांग्रेसका नगरप्रमुख र उपप्रमुखलाई हातमा लिएर गत भदौमा लमही नगरपालिका छिरेका  डाँगीले शक्ति केन्द्र रिझाउँदै कर्मचारीमाथि अन्याय गर्ने गरेको पीडित कर्मचारीहरुको भनाइ छ । 

उनको विरोधमा ४९ जना कर्मचारीहरु आन्दोलित भएका बेला मेयर, उपमेयर लमही नगरपालिका वडा–५ का वडा सदस्य केशवराज अधिकारी, कर्मचारीहरु गायत्री थापा, रमेशचन्द्र ठकुरी र कृष्ण नेपाली डाँगीको पक्षमा उभिएको बताइएको छ।  

डाँगीलाई नहटाएसम्म नगरपालिका बन्द गर्ने चेतावनी आन्दोलित कर्मचारीहरुले दिएका छन् ।

सोमबार लमहीका युवाहरुले पनि डाँगीका कारण नगरपालिका बन्द हुँदा नागरिकहरु सरकारी सेवाबाट बञ्चित हुन पुगेको भन्दै डाँगीको विकल्प खोजेर नगरपालिकालाई सुचारु गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

डाँगीले गर्ने क्रियाकलापबाट आजित भएका कर्मचारीहरुले यसभन्दा पहिले जिल्ला प्रशासन कार्यालय दाङमा समेत ज्ञापनपत्र बुझाइसकेको भए पनि सुनुवाई नभएको गुनासो गरे। उनीहरुले सेवा प्रवाह सुचारु गर्नको लागि माग गरेका छन् । 

यो भन्दा अघि पनि ४७ जना कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले डाँगी सरुवा भएर लमहीमा आए लगत्तै आन्दोलन गरेका थिए । कार्यपालिका सदस्यहरुले चरणबद्व आन्दोलनका क्रममा नगरपालिकाको मुलगेटमा तालासमेत लगाएका थिए । 
 
यता प्रशासकीय अधिकृत डाँगीले भने आफुमाथि अनावश्यक आरोप लगाउँदै नगरपालिका बन्द गरेको प्रतिक्रिया दिएका छन् ।

यस सम्वन्धमा प्रतिक्रिया माग्नको लागि लमही नगरपालिकाका मेयर जोगराज चौधरीसँग सम्पर्क गर्दा फोन उठेन ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ