arrow

जो पानीजहाजको रडरमा ११ दिने यात्रा गरी नाइजेरियाबाट स्पेन पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
nigeria-spain-ship-rudder-stowaways.jpg

काठमाडौं । तीन जना 'स्टोवावे' हरु पानीजहाजको 'रडर' मा बसेर नाइजेरियाबाट ११ दिनको जल यात्रा पूरा गरी स्पेन पुगेको त्यहाँको कोस्टगार्डले बताएका छन् ।

जहाज, विमान, रेल, कार्गो ट्रक वा बस जस्ता सवारी साधनमा लुकेर यात्रा गर्नेहरुलाई स्टोवावे भन्ने गरिन्छ । यस्तै रडर भनेको प्राथमिक नियन्त्रण सतह हो जुन खासगरी पानी जहाज, डुङ्गा, पनडुब्बी, होभरक्राफ्ट, विमान वा अन्य सवारी साधनमा दिशा नियन्त्रणका लागि रहेको हुन्छ ।

स्पेनी कोस्टगार्डले सार्वजनिक गरेको तस्बिरमा ठूलो तेल ट्याङ्करको अन्तिम भागमा रडरमा तीन जना पुरुषहरु बसिरहेको देख्न सकिन्छ । उनीहरुको खुट्टा पानीको सतहबाट १ मिटरको दूरीमासमेत थिएन ।

यो पानीजहाज नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसबाट छुटेको थियो । स्पेनी टापु ग्रान क्यानरियामा गन्तब्यमा पुग्ने बित्तिकै देखिएका यी स्टोवावेहरुलाई अस्पताल लगेर उपचार गरिएको थियो ।

योबीचको दूरी करिब २७ सय माइल अर्थात ५ हजार किलोमिटर रहेको छ ।

यद्यपि स्टोवावेहरू रडरहरूमा फेला परेको यो पहिलो पटक भने हैन । 

सन् २०२० मा एक १४ वर्षीय बालकले लागोसबाट ग्रान क्यानरियाको यात्रा गरेका थिए । ती बालक रडरमा आफूसँगै आइरहेको अर्काे पुरुषसँग रडरको माथि प्वालमा पालौपालो सुतेर १५ दिनको यात्रा गरी ग्रान क्यानरिया पुगेका थिए ।

'हामी निकै कमजोर थियौं । यो यति गाह्रो हुन सक्छ भनेर मैले कल्पना पनि गरेको थिइनँ,' ती बालकले भनेका थिए ।

सोही वर्षको अर्को घटनामा लागोसबाटै लास पाल्मासको १० दिने यात्रा गरेपछि नर्वेजियन तेल ट्याङ्कर च्याम्पियन पुलाको रडरमा चार जना मानिस भेटिएका थिए ।

पश्चिमी अफ्रिकाबाट स्पेनी स्वामित्वको क्यानरी टापुहरूमा डुङ्गाहरू पार गर्ने आप्रवासीहरूको संख्या हालका वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ।

तर यी यात्राहरू लामो, जोखिमपूर्ण र घातक छन् । सन् २०२१ मा संयुक्त राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले यस जलमार्गमा १ हजार १ सय २६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ