arrow

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
Dolakha_District.png
फाइल तस्बिर

काठमाडौँ। दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। ती मतदान केन्द्रमा चार वटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन्।

सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो। तामाकोसी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियो।

ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदान स्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ