arrow

लमहीका अधिकृतको सरुवा गर्ने लिखित सहमति, कर्मचारीले छोडे आन्दोलन

logo
नारायण वली,
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
lamahi-nagar.jpg

रुपन्देही । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई यथाशीघ्र सरुवा गरिने लिखित सहमति भएपछि कर्मचारीहरूले गरेको आन्दोलन स्थगित भएको छ । 

आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी बीच बिहीबार बेलुका भएको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी सरुवा गर्ने लिखित सहमति भएको हो । सहमति पश्चात् डाँगीको विरोधमा आन्दोलन चर्काएका उक्त नगरपालिकाका कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन्।

लमही नगरपालिकाका वडाध्यक्षहरू सहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउ समेत गरे । प्रमुख प्रशासकीय अधिकृत डाँगी नगर विकास समितिको कार्यालयमा रहेको क्वाटरमा बसेको सूचना पाएपछि आन्दोलनरत कर्मचारीहरू नगर विकासको भवन घेराउ गरी दिनभर कोठामा थुनेपछि अवस्था असामान्य हुने स्थितिमा पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो ।

कर्मचारीहरूले गत आइतबार देखि नगरपालिकाबाट हुने सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए । कर्मचारीहरूमाथि प्रमुख प्रशासकीय अधिकृत डाँगी नियम विपरीत नगरपालिकामा एकाङ्की शासन लादेको र थिचोमिचो सहन नसकेर बाध्य भएर आन्दोलन गर्नुपरेको जनप्रतिनिधि र कर्मचारीहरूले बताउँदै आएका थिए । पछिल्लो पटक सरुवा भएको केही हप्ता भित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको हाजिरी भएपछि थप आन्दोलित कर्मचारीहरू आक्रामक बनेका थिए ।

आन्दोलनमा उत्रिएकाहरूले बिहीबार डाँगीको नेम प्लेट समेत तोडफोड गरेका थिए । सुरुवाती चरणबाट विवादित छविका डाँगीको सरुवा नहुँदा सम्म आन्दोलन जारी राख्ने अडान लिएका कर्मचारीहरूले अन्ततः सरुवा गर्नुपर्ने लिखित सहमति भएपछि मात्रै आन्दोलन रोकेको वडा न-१ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ