- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । जन्ती बोकेको जिपलाई ठक्कर दिने पिकअप भ्यानलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ । आज बिहानन ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यानले जन्ती बोकेको विङ्गर गाडीलाई ठक्कर दिदाँ पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए ।
महोत्तरीको पिपरा गाउँपालिकाको गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिरेन्द्र बजारमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले बताए ।
मृत्यु हुनेमा एक पुरुष, एक बालक र तीन जना महिला छन् । एसपी रजौरेका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीयै रुवी साह, महोत्तरी पिपरा गाउँपालिका-२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी-बहिनी १३ वर्षीयै सृजना साह र १८ वर्षीयै मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुर रहेका छन् ।
मृतकको शव प्रादेशिक अस्पताल धनुषामा राखिएको छ भने घाइतेहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दियो।