arrow

चोलेन्द्र प्रकरण : सर्वोच्चमा सुनुवाइ जारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
supreme-court-gate.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र विरुद्ध सर्वोच्च अदालतमा परेको रिट माथि सुनुवाइ जारी छ । 

सुनुवाइको शूरुमा अधिवक्ता टीकाराम भट्टराईले बहस गरेका छन् । अर्का वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र  गोपालकृष्ण घिमिरे,  बद्रिबहादुर कार्की र शम्भु थापाले बहस गर्नेछन् ।

रिटमा सुनुवाइ गर्न अदालतले संवैधानिक इजलास गठन गरेको छ । कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

बुधवार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की, सदस्य विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले रिट दायर गरेका थिए । 
 
रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर सङ्घीय संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।
 
गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानुनीरूपमा पत्र पठाइएको उल्लेख छ । रिट निवेदनमा उक्त निर्णय बदर गर्न माग गरिएको छ ।
 
सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले यही मङ्सिर २१ गते प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायमा महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ