arrow

समानुपातिक सांसद छान्दै शीर्ष दलहरु, बस्दै बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
congress-uml-maobadi.jpg
तस्बिर – फाइल ।

काठमाडौं । समानुपातिक सांसद चयन गर्न शीर्ष दलहरुले बैठक बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले आज बैठक बोलाएका छन् । 

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा शुक्रबार बसेको माओवादीको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

आज मात्रै टुंगो लगाउने माओवादीले जनाएको छ । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । 

बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीनजना पुरुष सांसद पठाउन सूचित गरेको छ । यस्तै, प्रदेश सांसदबारे पनि सोही बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।

यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक शनिबारका लागि सरेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका थिए । तर, ओलीको कार्यव्यस्तताका कारण एमाले बैठक हिजो बस्न सकेन । 

पदाधिकारी उपस्थित रहने सो बैठक शनिबार बस्ने तय भएको छ । एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।

यस्तै जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले बिहान बस्दैछ ।  बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गर्ने भएको छ। जसपाले समानुपातिकमा पाँच जना पाएको छ ।

अन्य दलहरुले धमाधम अन्तिम रुप दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ