arrow

दिल्ली दूर नहीँः एमालेको सरकार बनाउने रणनीतिमा महासेठ लागे भारत 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २५ आइतबार
kp-oli-raghubir-mahaseth.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतपरिणामपछि अन्तरपार्टी संवादमा सक्रिय रहेका एमाले सचिव रघुवीर महासेठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको केही दिनमै भारतको नयाँदिल्ली पुगेका छन् । 

एमालेको नेतृत्वमा सरकार बनाउनु पर्छ भन्दै दौडधुप गरेका सचिव महासेठले प्रचण्डलाई भेट गरेपछि दिल्ली उडेका हुन् । प्रचण्डसँग भेटघाट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका महासेठले मधेस प्रदेश र अहिलेको राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए । 

एमाले सचिव महासेठले एमालेबाट विभाजित भएका र हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालसँग पनि भेटघाट गरेका थिए । 

भित्री रुपमा एमालेले सरकार बनाउने प्रयास गरिरहँदा बाहिर भने एमालेका शीर्ष नेताहरु तथा पदाधिकारीहरुले प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने बताइरहेका छन् । 

तर पनि महासेठ शनिवार साँझ  भिस्तारा एअरको उडान नम्बर युके १५६ बाट नयाँदिल्ली गएका हुन् । उनको पारिवारिक स्रोतका अनुसार त्यहाँ राजनीतिक भेटघाट हुनेछ । 

यद्यपि को सँग कहाँ कसरी भन्ने बारेमा केही खुलेको छैन । मंसिर ४ को निर्वाचनमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतको झिनो मतान्तरले पराजित गरेका थिए । 

उनकी श्रीमती जुलीकुमारी महतो पनि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसदमा निर्वाचित भएकी छिन् । 

फरक फरक विचारका तीन नेताहरुसँगको भेटघाटपछि महासेठ दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

गैर आवासीय नेपाली उपेन्द्र महतोका बहिनी ज्वाइँ महासेठले पछिल्लो समय एमालेको नेतृत्वमा वामपन्थीहरुको सरकार बनाउनु पर्ने अभियान सञ्चालन गरेका छन् । 

तर यो विषयमा एमाले अध्यक्ष र अन्य नेताहरु मौन रहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलले त एमालेलाई प्रमुख प्रतिपक्षमा बस्न जनताले म्याण्डेट दिएका कारण तत्काल सरकारमा जाने कुनै पनि योजना नभएको र कसरत पनि नगरेको बताएका छन् । 

उनले गठबन्धनकै सरकार बन्ने अवस्था रहेकाले एमालेको ध्यान त्यता आकर्षित नभएको पनि बताइसकेका छन् । 

त्यसैगरी एमाले सचिव योगेश भट्टराईले पनि सरकारमा जाने र सरकार बनाउने योजना नभएको बताएका बेला माओवादीका केही नेताहरु भने एमालेका नेताहरुसँग सम्पर्कमा रहेका छन् । 

माओवादी उपमहासचिव एवं अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेतले एमाले नेताहरुसँग कुराकानी गरिरहेको स्रोतको दाबी छ । शर्मा त फेरि पनि अर्थमन्त्री आफू नै बन्नुपर्छ भन्दै हिँडिरहेका छन् । 

यस्तै माओवादीको पदाधिकारी बैठकले सरकार बनाउने विषयमा सबै दलसँग सहकार्य गर्ने निर्णय गरिसकेको छ । अर्थात् माओवादीले कांग्रेससँग भए पनि एमालेसँग भए पनि मिलेर सत्ता चलाउने रणनीति बनाएको छ ।

तर गठबन्धनको बैठकमा भने माओवादीले अहिलेको पाँच दलीय गठबन्धनबाटै सरकार बनाउनुपर्ने धारणा राखेको थियो ।

सरकार बनाउने बेलामा भारतको प्रभाव रहने विश्वास गर्र्दै महासेठ भारततिर लाग्नुलाई भने अर्थपूर्ण रुपमा नै हेरिएको छ । आखिर दिल्ली टाढा पनि त छैन । 

दुई देशबीचको सम्बन्ध सुधार गर्दै विकासको लहर ल्याउन सहकार्य गर्नुपर्नेमा अब आन्तरिक राजनीतिका लागि पनि माहोल बनाउन महासेठ जानुलाई भने सहज रुपमा लिइएको छैन । 

कुनै पनि दलको बहुमत नआएका कारण सत्ता चलाउने रणनीति दलहरुले बनाउँदै छन् । तर कसको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ