arrow

युरोपेली संसदको भ्रष्टाचार काण्ड: चार पक्राउ, सदस्य काइलीद्वारा घुसखोरी अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
Eva-Kaili-eu-eu-parliment.jpg

काठमाडौं । युरोपेली संसदकी ग्रीक सदस्य इभा काइलीले युरोपेली संसदमा विश्वकप आयोजक कतारसँगको कथित घुसखोरी काण्डमा संलग्नता अस्वीकार गरेकी छिन् ।

बेल्जियमका अनुसन्धानकर्ताहरुले घरमा ठूलो रकम नगद र एउटा सुटकेस फेला पारेपछिका चार संदिग्धहरूमध्ये उनी एक हुन् । इभा काइलीलाई शुक्रबार बेल्जियन प्रहरीले पक्राउ गरेको थियो ।

युरोपेली संसदका १४ उपाध्यक्षमध्ये एक रहेकी इभा काइलीलाई उपाध्यक्ष पदबाट हटाउने पक्षमा ६२५ सांसदले मतदान गरेका थिए भने एक मत उनको पक्षमा परेको थियो ।

संसदीय लिडर रोबर्टा मेत्सोलाले यो घटनाक्रमलाई युरोपेली लोकतन्त्रका लागि कठिन दिनहरू भनेकी छिन्। कतारले कुनै पनि गल्ती नगरेको भनेको छ ।

'इभा काइलीले आफ्नो निर्दोषता घोषणा गर्छिन् र कतारबाट घुस लिएको विषयमा उनको कुनै सम्बन्ध छैन,' उनका वकिल मिकालिस दिमित्राकोपोलोसले मंगलबार ग्रीक टिभीलाई भने ।

अभियोजकहरूले धेरै दिनसम्म खोजी गरेर एक संदिग्ध व्यक्तिको घरमा करिब ६ लाख युरो (६ लाख ३२ हजार अमेरिकी डलर), युरोपेली संसदको सदस्यको घरमा १ लाख ५० हजार युरो र ब्रसेल्सको एक होटलको कोठामा सुटकेसमा धेरै लाख युरो भेटिएको बताएका छन् ।

त्यहाँबाट कम्प्युटर र मोबाइल पनि लिएको छ । काइलीको अपार्टमेन्टमा पैसा भेटियो कि भनेर सोध्दा उनका वकिलले 'पैसा फेला पर्यो वा कति भेटियो मलाई थाहा छैन,' भन्दै जवाफ दिएका छन् ।

बेल्जियम प्रहरीले पक्राउ गरेको संदिग्धहरूलाई 'आपराधिक संगठन, मनी लान्ड्रिंग र भ्रष्टाचारमा संलग्नता' को आरोप लगाइएको र बुधबार अदालतमा हाजिर हुने अभियोजकहरूले भनेका छन् ।

संदिग्ध अन्य तीनजना सबै इटालियन भएको बताइएको छ । जसमा युरोपेली संसदका इटालीयन पूर्व सदस्य अहिले मानव अधिकारवादी समूह चलाउने पियर एन्टोनियो पान्जेरी रहेको बताइएको छ ।

कतार २००४ देखि २०१९ सम्म युरोपेली संसदका सदस्य रहेका इटालीयन समाजवादीलाई घुस दिने संदिग्ध प्रयासमा केन्द्रित भएको कुरा एएफपीलाई एक स्रोतले पुष्टि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ