arrow

युरोपमा इतिहासकै खतरनाक गर्मीको लहर

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
european-union.jpg

काठमाडौँ ।  युरोपमा यस वर्ष देखिएको रेकर्डस्तरको गर्मीको लहर मानवसिर्जित जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। वैज्ञानिकहरूका अनुसार ५० वर्षअघि जुन महिनामा यस्तो अत्यधिक गर्मी आउनु लगभग असम्भव थियो तर जलवायु परिवर्तनका कारण अहिले यस्ता उष्ण लहरहरू बारम्बार र अझ खतरनाक बन्दै गएका छन्।

युरोप, अमेरिका र बेलायतका वैज्ञानिकहरू सम्मिलित विश्व मौसम एट्रिब्युसन समूहले शुक्रबार सार्वजनिक गरेको अध्ययनमा हालको उष्ण लहरको विश्लेषण गरिएको छ। उक्त अध्ययनअनुसार सन् १९७६ मा यस्तै प्रकारको गर्मीको लहर आएको भए तापक्रम अहिलेको तुलनामा करिब ३.५ डिग्री सेल्सियस कम हुने थियो। 

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका वैज्ञानिक थियोडोर किपिङले वर्तमान तापक्रम वृद्धि जलवायु परिवर्तनबिनाको अवस्थामा सम्भव नहुने बताए। उनका अनुसार अहिले पृथ्वी पूर्वऔद्योगिक कालको तुलनामा करिब १.४ डिग्री सेल्सियस तातिसकेको छ, जसको मुख्य कारण कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोग हो।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले गर्मीको लहर, खडेरी तथा अन्य चरम मौसमी घटनालाई अझ तीव्र र बारम्बार बनाइरहेको छ, त्यसैले तापक्रम वृद्धिलाई सीमित गर्नु विश्व समुदायका लागि अत्यन्त आवश्यक देखिएको छ। विश्वमै सबैभन्दा तीव्र रूपमा तातिरहेको महाद्वीप युरोपमा यस साता लाखौँ मानिसहरूले अत्यधिक गर्मीको सामना गरेका छन् भने केही देशहरूमा तापक्रमले नयाँ कीर्तिमानसमेत कायम गरेको छ। 

विश्व मौसम एट्रिब्युसनका सहसंस्थापक फ्रेडेरिक ओटोले असामान्य मौसम प्रणालीभन्दा पनि मानवसिर्जित तापक्रम वृद्धिले अहिलेको अवस्था सिर्जना गरेको बताए। उनका अनुसार विगतमा यस्ता तापक्रम अत्यन्त दुर्लभ मानिन्थे।

वैज्ञानिकहरूले सन् २००३ को विनाशकारी युरोपेली गर्मीको लहरसँग पनि अहिलेको अवस्थाको तुलना गरेका छन्, जतिबेला युरोपका विभिन्न देशमा दशौँ हजार मानिसको मृत्यु भएको थियो। अध्ययनअनुसार अहिलेको गर्मी सन् २००३ को तुलनामा पनि अझ बढी चरम देखिएको छ। 

सन् २००३ मा यस्तै घटना घटेको भए तापक्रम करिब २ डिग्री सेल्सियस कम हुने र रातिको अत्यधिक गर्मीको सम्भावना पनि अहिलेको तुलनामा धेरै कम हुने वैज्ञानिकहरूले बताए। अध्ययनले पछिल्ला दुई दशकमै तीव्र गर्मीका घटनाहरू दसौँदेखि सयौँ गुणासम्म बढेको देखाएको छ, जसका लागि जलवायु परिवर्तन स्पष्ट रूपमा जिम्मेवार छ। यसपटकको तातो लहरमा एल निनो जस्ता प्राकृतिक मौसमी चक्रले भने महत्त्वपूर्ण भूमिका नखेलेको अध्ययनमा उल्लेख छ।

फ्रेडेरिक ओटोले अत्यधिक तापक्रम र आद्र्रताको संयोजनबाट उत्पन्न हुने ‘गर्मी तनाव’ लाई विशेष चिन्ताको विषयका रूपमा औंल्याए। शरीरको प्राकृतिक शीतलन प्रणाली असफल हुँदा चक्कर लाग्ने, टाउको दुख्ने, अङ्गहरूमा समस्या देखिने र मृत्युसम्म हुन सक्ने खतरा रहने उनले बताए। 

अध्ययनमा समेटिएका युरोपका करिब ८५० सहरमध्ये झन्डै ४५ प्रतिशतले जुन महिनामा आफ्नो इतिहासकै उच्च गर्मी तनावको रेकर्ड तोडेका छन् वा तोड्ने अवस्थामा पुगेका छन्, जसले अहिलेको गर्मीको लहरलाई विशेष रूपमा खतरनाक र असहज बनाएको छ। यसअघि मे महिनामा पनि युरोपको मध्य तथा पश्चिमी क्षेत्रमा असामयिक गर्मीको लहर देखिएको थियो भने यस वर्ष युरोपले छोटो अवधिमै दोस्रो पटक तीव्र गर्मीको सामना गरिरहेको छ। 

विश्व मौसम एट्रिब्युसन समूहले भविष्यमा अझ घातक तापक्रम वृद्धि र त्यसका असरबाट बच्न जीवाश्म इन्धनको प्रयोगलाई तीव्र रूपमा घटाउनु अपरिहार्य रहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ