arrow

थानीमाई मन्दिरमा भक्तजनको आकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
Thani_mai_tanahun.jpg

तनहुँ । जिल्लाको भानु नगरपालिका-७ वसन्तपुरस्थित धार्मिकस्थल थानीमाई मन्दिरमा भक्तजनको आर्कषण बढ्दै गएको छ । उक्त मन्दिरमा तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन पूजाअर्चना र फूलको डोली भित्र्याउन भीड नै लाग्ने गरेको छ । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए । 

उनले भने, “साउन महिनाबाहेक प्रत्येक महिनाको मङ्गलबार विशेष पूजाआजा हुने यस मन्दिरमा पछिल्लो समय भक्तजनको भीड लाग्ने गरेको छ ।” गत मङ्सिर महिनाको अन्तिम मङ्गलबार ४५ फूलको डोली भित्र्याइएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले बाजागाजा शसहित फूलको डोली भित्र्याएका हुन् । 

अध्यक्ष थापामगरका अनुसार विशेष गरी सोमबार सत्यनारायण पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिक महिनादेखि माघ महिनासम्म भक्तजनको भीड नै लाग्ने गर्दछ । उक्त मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेक अन्य समयमा पूजाअर्चना निरन्तर हुने गर्छ ।

पछिल्ला समय थानीमाई मन्दिर जाने नयाँ सडक खुलिसकेका छन् । सडक खुलेसँगै भक्तजनको संख्या बढ्न थालेको छ । भक्तजन फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरमा तीन पटक नाचगान गर्दै परिक्रम गर्छन् । परिक्रमपश्चात् माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएका तोरणलाई तीन फन्का घुमाएर बाँध्ने  गरिन्छ । 

त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गर्ने गरिन्छ । झण्डै चार सय ५० वर्ष अघि भानु नगरपालिका-७ स्थित कोटथोकमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि हाल मन्दिर रहेको स्थानमा ओत लाग्दा अन्र्तध्यान भएको जानकार बताउँछन् ।

स्थानीय मानसिं पाटा मगरको सपनामा उक्त स्थानमा मन्दिर बनाएर पूजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना गरेपछि समस्या समाधान भएको किंवदन्ती रहेको पाइन्छ । समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा रहेको यस मन्दिरबाट छिमेकी जिल्ला गोरखा, लमजुङलगायतका विभिन्न जिल्लाका मनोरम र हिमशृंखला दृश्य अवलोकनसमेत गर्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको यस मन्दिरको पुनःनिर्माण गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयबाट रु चौध लाख र मन्दिरको भेटीबाट रु छ लाख गरी रु बीस लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो । विसं १८२५ देखि उक्त मन्दिरमा पूजाअर्चन शुरुआत भएको बताइएको छ । उक्त मन्दिर जिल्लाको डुम्रे बजार स्थित पृथ्वीराजमार्गबाट करिब १८ किलोमिटर दूरीमा पर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ