arrow

लुम्बिनीको निर्वाचन प्रतिवेदन पेश, २२ दलको धरौटी जफत

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २ शनिबार
election-lumbini-pradesh-result-2079.jpg

रुपन्देही । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमा भएको निर्वाचन मतपरिणाम प्रतिवेदन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पेश गरेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा गत मंसिर २८ गते प्रकाशन गरी प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरिसकेको छ । 

निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको ७ दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान बमोजिम आयोगबाट शनिबार  लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को परिणाम सहितको प्रतिवेदन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष पेश गरिएको हो ।


आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको प्रदेश सभातर्फ ८७ जना निर्वाचित भएका छन् । जसमा पुरुष ५४ जना ६२.०७ प्रतिशत र महिला ३३ जना ३७.९३ प्रतिशत निर्वाचित भएको उल्लेख छ ।

प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीतर्फ २५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ वटा राजनितिक दलहरु निर्वाचनमा सहभागी भएका थिए । 

प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ४ सय ६७ र महिला २९ गरि कूल ४ सय ९६ जनाको अन्तिम उम्मेदवारी कायम भएकोमा समानुपातिक निर्वाचन प्रणालीमा कूल ५७९ जना उम्मेदवारहरुको अन्तिम बन्द सूचि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला १६ लाख १२ हजार ४ सय ७१, पुरुष १६ लाख ३७ हजार १ सय ३२ र अन्य ३४ गरि कूल ३२ लाख ४९ हजार ६ सय ३७ मतदाता कायम रहेको बताइएको छ । पहिलो हुने निर्वाचित हुन निर्वाचन प्रणालीतर्फ २० लाख ३४ हजार ३ सय ५४ (६२.६) प्रतिशत मतदान भएको थियो । जसमध्ये १९ लाख ४२ हजार ९ सय ७७ (९५.५१) प्रतिशत मत सदर भएको थियो । भने, ९१ हजार ३ सय ७७ (४.४९) प्रतिशत मत बदर भएको थियो । सोही सभाको समानुपातिक निर्वाचनमा २० लाख ३४ हजार १ सय ६ (६२.५९) प्रतिशत मतदान भएको थियो । जसमध्ये १८ लाख ८७ हजार ७८ (९२.७७) प्रतिशत मत सदर भएको थियो भने, १ लाख ४७ हजार २८ (७.२३) प्रतिशत मत बदर भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनितिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था बमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये लुम्बिनी प्रदेशमा २२ वटा राजनितिक दलको धरौटी जफत भएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १.५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार लुम्बिनी प्रदेशमा १० वटा राजनितिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व हुने भएको छ ।

प्रतिवेदन पेश कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले संवैधानिक प्रक्रिया अनुसार निर्वाचन मतपरिणाम आएको सात दिनभित्र बुझाउनुपर्ने प्रतिवेदन यसअघि मंसिर २९ गते राष्ट्रपति समक्ष पेश गरिसकिएको र प्रदेशमा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएकाले बुझाईएको बताए । उनले सीमित स्रोत साधनका बाबजुत पनि एकैपटक प्रदेश र संघको निर्वाचन एउटै समयमा गर्न सफल भएकोमा निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा संलग्न भई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सरकारी निकाय, विभिन्न संगसंस्था, गैरसरकारी संस्था, सञ्चारमाध्यम लगायतलाई धन्यवाद ज्ञापन गरे । यद्यपि एउटै समयमा गर्ने भनिएको निर्वाचन केही ठाउँमा त्यस्तै परिस्थिति आइपरेकाले पुन: मतदान गर्न परेको भन्दै एकाध हुनु स्वभाविक भएको बताउँदै स्वच्छ, स्वतन्त्र  र निष्पक्ष निर्वाचन सम्पन्न गरेको उनले बताए ।

कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूमा निकै खुशी र विश्वास जागेको बताए । देशमा संघीयता व्यवस्था फलिफाप छैनभन्नेहरुको कमी नभएका बेला सम्पन्न निर्वाचन परिणामले संघियता व्यवस्थालाई आमजनताले आफ्नो मत दिएर पुष्टि गरेकोमा खुशी भएको व्यक्त गर्दै वीर योद्धाहरुलाई सम्झिदै बलिदानले ल्याएको गणतान्त्रिक व्यवस्थालाई पूर्णता दिन सबैको भूमिका महत्त्वपूर्ण रहेको जनाए ।

प्रदेश प्रमुख शेरचनले विगतका निर्वाचन र अहिलेको निर्वाचनमा आफुले धेरै सहज एवं फरक अनुभव संलागेको जनाउँदै सरल प्रक्रिया बनाएर निर्वाचनमा जनतालाई सहजता प्रदान गरेकोप्रति निर्वाचन आयोग र आयुक्त लगायतलाई धन्यवाद दिए । योसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ