arrow

गगन संसदीय दलको नेतामा लड्ने, शेखर प्रस्तावक, धनराज समर्थक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
gagan-2079-09-05.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगनकुमार थापा उम्मेदवार बन्ने भएका छन् । बिहान बसेको पदाधिकारी बैठकले संस्थापनइतर पक्षबाट गगन थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो । 

डा. शेखर कोइराला पनि संसदीय दलको नेतामा इच्छित भएपछि बिहानसम्म संस्थापनइतर पक्षमा अलमल देखिएको थियो । तर पदाधिकारीहरुबीचको छलफलमा सहमति बनेसँगै अब डा. कोइराला नै गगनको प्रस्तावक बन्ने भएका हुन् । 

मध्यान्हपछि बसेको संस्थापन इतर पक्षका नेताहरुको सामूहिक छलफलमा गगन उम्मेदवार बन्ने, डा. शेखर प्रस्तावक बन्ने र उपसभापति धनराज गुरुङ समर्थक बन्ने भएका छन् । 

सो भेलामा डा. कोइरालाले आफू संसदीय दलको नेतामा लड्ने भनेर कहीँ कतै नभनेको तर छलफल भने भएको बताएका थिए । उनले सहमतिमा गइएन भने आफूहरुको लक्ष्य प्राप्ति नहुने बताउँदै गगनलाई संसदीय दलको नेतामा उम्मेदवारीलाई प्रस्ताव गरे । 

उक्त कार्यक्रममा गगन थापाले सबै संस्थापन इतर पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएदेखि नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनलाई नै संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाउनु पर्छ भन्दै लाग्दै आएका छन् । उनले यो क्षणमा आइपुग्दा सुखानुभूति गरेको प्रतिक्रिया दिएका छन् ।

योसँगै गगनको भिडन्त सभापतिसमेत रहेका शेरबहादुर देउवासँग हुनेछ । देउवासँग बहुमत देखिए पनि गगन थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याएसँगै फरक नतिजा आउन सक्ने आँकलनसमेत भइरहेको छ । 

कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् । उम्मेदवारी दिउँसो दर्ता हुनेछ भने भोलि बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ