arrow

युवाले परिवर्तनलाई लिएर हिँड्ने भएकाले मेरो उम्मेदवारी – गगन थापा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ५ मंगलबार
congress-shekhar-gagan-team-parliamentary.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले देशभरका कार्यकर्ताको परिवर्तनरुपी मन बुझेर आएका सांसदहरुका कारण उत्साही भएको जनाएका छन् । 

संसदीय दलको नेताका लागि सिंहदरबारमा उम्मेदवारी दर्ता गरेपछि संचारकर्मीसँग बोल्दै नेता थापाले आफू विजयी हुनेमा विश्वस्त रहेकोसमेत बताए । 

कार्यकर्ताको भावना बुझेर र अन्तरमनलाई सोधेर नै सांसदहरुले मतदान गर्ने हुनाले आफूलाई मत दिनेमा विश्वस्त रहेकोसमेत गगनले बताए । 

युवाले नै परिवर्तनलाई लिएर हिँड्ने भएकाले आफ्नो उम्मेदवारी पनि त्यसकै लागि भएको उनले स्पष्ट पारेका छन् । 

उनले जनताको मन र परिवर्तन बुझेर आएका सांसदहरुले अहिले सोचेको जस्तो नतिजा नआउन सक्छ भन्दै टिकट बाँड्ने बेलामा सभापति एवं संसदीय दलको नेताका अर्का उम्मेदवार शेरबहादुर देउवा हावी भएको नेता थापाले बताए । 

तर उनले विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरु आउँदा आफू उत्साही भएको बताए । उनले कांग्रेसको भविष्यका लागि र परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा भाग लिन आग्रहसमेत गरेका छन् । 

उनले भने, ‘संसदीय दलभित्र हामी पार्टीका आन्तरिक मतदाता होइनौं हामी जनताबाट चुनिएर आएका हौं । सांसदले जनमतको प्रतिनिधित्व गर्नुपर्छ । के जनमत प्रकट भएको छ, जनताको आकांक्षा के छ । त्यो ख्याल गर्नुपर्छ ।’ 

गगनले भने, ‘युवाले परिवर्तनलाई लिएर हिँड्ने भएकाले मेरो उम्मेदवारी हो ।

नेता थापाले सभापति देउवासँग संघर्ष गरेर बसेका रामचन्द्र पौडेललाई समर्थन फिर्ता गरी पार्टीको भविष्यका लागि विचार गर्न आग्रह गरे ।

सोमबारसम्म आफू पनि उम्मेदवार बन्ने बताइरहेका पौडेलले सभापति देउवाबाट राष्ट्रपतिका लागि आश्वासन पाएसँगै होड छोडेर प्रस्तावक बनेको बुझिएको छ । 

यसअघि गत वर्षको पार्टीको १४ औं महाधिवेशनमा पनि सभापतिमा लड्ने भन्दाभन्दै अन्तिममा छाडेर देउवालाई नै उनले मौन समर्थन गरेका थिए । 

संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी 
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् । 

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।

त्यस्तै महामन्त्री थापाको प्रस्तावकमा डा. नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । 

यसअघि संस्थापनइतर समूहबाट गगनको नाम सर्वसम्मत गरिएको थियो । केही दिनदेखिका प्रयासले अन्तिम समयमा मूर्तरुप लिएको हो । 

कांग्रेसका ८९ जना सांसद रहेकामा जितका लागि अब ४५ मत ल्याए पुग्नेछ । कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै सरकारको प्रधानमन्त्री बन्ने अभ्यास कांग्रेसमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ