arrow

रुसमा सैन्य उमेरहद २१ देखि ३० वर्ष बनाउन प्रस्ताव, सेनाले मागेको दिने पुटिनको बाचा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
putin- TASS HOST PHOTO AGENCY.jpg

काठमाडौं । रूसी रक्षा मन्त्री सर्गेई शोइगूले २१ देखि ३० वर्षका नागरिकहरूलाई समेट्ने गरी अनिवार्य सैन्य सेवाको लागि उमेर दायरा बढाउन प्रस्ताव गरेका छन् ।

हालको कानून अन्तर्गत १८ देखि २७ वर्ष बीचका रूसीहरूलाई अनिवार्य सैन्य सेवाको लागि बोलाउन सकिन्छ । तर शोइगू र राष्ट्रपति भ्लादिमिर पुटिनले बारम्बार अनिवार्य भर्तीमा परेकालाई युद्धमा नपठाइएको बताएका छन् ।

रुसका सैन्य प्रमुख र पुटिनसँगको वर्षको अन्त्यमा भएको सम्मेलनमा बोल्दै शोइगूले रुसले सेनालाई आधुनिक हतियार आपूर्तिको कामलाई तीव्रता दिइरहेको पनि बताए ।

राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा मन्त्रालयले युक्रेनमा विशेष सैन्य अपरेशनको समयमा आफ्नो कार्यको आलोचना गर्न आवश्यक रहेको र हालैको परिचालन अभियानले विशेष समस्याहरूलाई हाइलाइट गरेको बताएका छन् ।

रुसी रक्षामन्त्री सर्गेई शोइगूले रुसी सेनाले युक्रेनको सैन्य क्षमतालाई नष्ट गरिरहेको र पश्चिमले द्वन्द्वलाई 'तान्न' खोजेको आरोप लगाए।

यस्तै राष्ट्रपति पुटिनले युक्रेनमा सैन्य अभियानलाई सहयोग गर्न सशस्त्र बललाई जे माग्छन्, त्यो दिने बाचा गरेका छन् ।

मस्कोमा रक्षा प्रमुखहरूलाई सम्बोधन गर्दै पुटिनले सरकारले आफ्नो सेनालाई के उपलब्ध गराउने भन्नेमा कुनै आर्थिक सीमा नभएको बताएका हुन् ।

उनले रुसले द्वन्द्वमा ड्रोनको महत्वलाई विशेष ध्यान दिनुपर्ने बताउँदै रुसको हाइपरसोनिक सरमत मिसाइल ‘सैटान २’ छिट्टै तैनाथीको लागि तयार हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ