arrow

तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ७ बिहिबार
Tatopani_Beni_prachanda.jpg

म्याग्दी । बेनी नगरपालिका-४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

चाप बढेपछि दैनिक दुई/दुई घण्टाका दरले पुरुष र महिलालाई दुई/दुई वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । 

“चिसो बढेसँगै तातोपानी स्नानका लागि आउने बिरामीको अतिरिक्त पर्यटकको पनि चाप बढेको छ”, उनले भने, “सहज रूपमा स्नानको व्यवस्थाका लागि महिला र पुरुषलाई स्नान गर्ने फरक-फरक समय तालिका बनाएका हौँ ।” 

प्राकृतिक उपचार स्थलका रूपमा परिचित तातोपानीमा स्नानका लागि देशभरका नागरिकका साथै विदेशबाट पनि मानिस आउने गर्छन् । साउन महिनायता पाँच हजार चार सय ३८ ले स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । 

साउनमा दुई सय ६४, भदौमा चार सय ११, असोजमा एक हजार नौ सय दुई, कात्तिकमा एक हजार पाँच सय ४८ र मङ्सिरमा एक हजार तीन सय १३ जनाले तातोपानी कुण्डमा स्नान गरेका छन् । पुस सुरु भएदेखि तातोपानी स्नान गर्नेको दैनिक तीन सय जनाको हाराहारीमा रहेको छ । 

स्नानका लागि आएका बिरामी र पाहुनाले तातोपानी बजारमा चहलपहल बढेको छ । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट वीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एक पटकमा तीन सय ५० देखि चार सयले स्नान गर्न सक्ने क्षमता छ । छोटो समयका लागि स्नान गर्नेलाई छुट्टै पोखरी बनाइएको छ । त्यहाँ स्नान गर्न एक पटकका लागि प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । 

एक दिनमा दुई पटक दुई/दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर पाँच-दश मिनेटसम्म पछ्यौरा, कम्बल, प्लास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ । सात दिन स्नानका लागि प्रतिव्यक्ति रु तीन सय ५० शुल्क तोकिएको छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । 

बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ । विगत १३ वर्षदेखि सरस्वती माविका १६ जनामध्ये चार जना निजी शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक रु एक लाखका दरले सहयोग गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ