arrow

सरसफाइ केन्द्र बनाउन जग्गा व्यवस्थापनमा व्यास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
vyas nagarpalika.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटेको छ । फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद गर्न लागेको हो । 

त्यसका लागि व्यास-१३ मा रहेको युगिन कृषि फार्म प्रालिको करिब ४० रोपनी जग्गा खरिद गर्न प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । उक्त जग्गा सम्बन्धमा नगरपालिकामा प्रस्ताव आएकाले स्थानीयवासीसँग छलफल एवं समन्वय गरी खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन सकेको छैन । यसअघि व्यास-३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेँमा फोहर फाल्दै आएको छ ।

दमौली हुँदै चितवनसम्म पुग्ने बुद्धसिंमार्गमा जथाभावी फोहर फालिँदा उक्त मार्ग नै दुर्गन्धित भएको छ । फोहर फाल्ने ठाउँको अभावमा सोढेंमा लगेर फोहर फाल्नुपर्ने बाध्यता रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए ।

“दीर्घकालीनरूपमा सरसफाइ केन्द्र बनाउने विषयमा नगरपालिका लागिपरेको छ”, उनले भने, “फोहर फाल्ने ठाउँ नै नभएपछि अहिले तत्कालका लागि बुद्धसिंमार्गको सोढेंमा फोहर फालिएको छ ।”

यसअघि नगरपालिकाले व्यास-१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरेको थियो । तर त्यहाँ स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पछि हटेको थियो । 

व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । नगरपालिकाले सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ