arrow

बुटवलको कालिका पथः के आजदेखि रात्रीकालीन बजार सञ्चालन होला ?

logo
नारायण वली,
प्रकाशित २०७९ पुष १८ सोमबार
night-business-butwal-2079.jpg

रुपन्देही । आइतबार बुटवलको नयाँ बसपार्क पछाडि रहेको खत्री मेडिकल अगाडि एउटा कार्यक्रमको आयोजना गरिएको थियो । विषय कालिका पथमा रात्रीकालीन बजार सञ्चालन सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया केन्द्रित थियो । जुन कार्यक्रममा मेयर, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय प्रशासन प्रमुख र व्यवसायीहरुको उपस्थिति थियो । 

कालिका पथ सडकमा रात्रीकालीन बजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रम औपचारिकतामा प्रवेश गरेपछि बोल्ने वक्ताहरुले पछिल्लो विकसित बजारीकरण, बुटवलमा निर्माणाधीन दुई वटा केवुलकार, बढ्दो ठूला होटल रेष्टुरेण्ट र छिमेकी जिल्लाहरुमा रहेका पर्यटन क्षेत्रमा गएका बाह्य पर्यटनहरुलाई फर्काउने क्रममा बुटवलमा एकदिन बास बसाल्न सके यहाँको आर्थिक क्षेत्रमा सहयोग पुग्ने भएकाले रात्रीकालीन बजारको अवधारणा आवश्यक रहेको चर्चा गरे । 

कार्यक्रममा सबै तह र तप्काका प्रतिनिधिले आफ्नो मन्तव्य राखे । प्रमुख अतिथिको आसनबाट बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले आजकै मितिबाट अर्थात् सोमबारदेखि रात्रीकालीन बजार लगाउन म होटल तथा रेष्टुरेण्ट संघ र उद्योग वाणिज्य संघका साथीहरु बसेर ११ बजेसम्म होराइजन चोकसम्म, सम्भव भएका ठाउँहरुमा रात्रीकालीन बजार राख्नका लागि प्रस्ताव पेश गर्छु र निर्णयलाई अनुमोदन गर्न अनुरोध गर्छु भने ।

उनले स्थानीय प्रशासनलाई सहयोग गर्न आग्रह गरे । साथै निर्णयलाई समर्थन गर्दै ताली बजाउन आह्वानसमेत गरेका नगरप्रमुख पाण्डेले अनुमोदन र समर्थन गर्न लगाएको निर्णय भने औपचारिक मौखिक थियो ।  

कार्यक्रममा बोल्दै इलाका प्रहरीका कार्यालयका प्रमुख दानबहादुर थापाले प्रहरीले शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्ने जिम्मेवारी भएको बताए ।

केही वर्ष अघिदेखि बुटवलको अमरपथ, ट्राफिक चोकमा रात्रीकालीन बजार लगाउनुपर्ने आवाज उठे पनि हालसम्म लाग्न सकेको छैन । व्यवसायीहरुले चासो जगाए पनि प्रशासनिक नियमसँग जनप्रतिनिधिसँगै व्यवसायीहरुको तालमेल खान नसकेका कारण रात्रीकालीन बजार लाग्न नसकेको केही जानकारहरुको भनाइ छ । 

रात्रीकालीन बजार सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने र जिल्ला सुरक्षा निकायमा आवाज उठे पनि कार्यान्वयन हुन सकेको छैन । 

बुटवल उपमहानगरपालिका वडा नं ९/११ मा पर्ने कालिका पथ नयाँ बसपार्कदेखि होराइजन चोकसम्म सोमबारदेखि तत्काललाई राति ११ बजेसम्म रात्रीकालीन बजार सञ्चालन गर्न मौखिक अनुमति दिइएको छ । बजारमा आउने सेवाग्राहीहरुलाई निःशुल्क शौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने, पार्किङ सुविधा व्यवस्था गर्ने, लाइटिङ र सीसीटीभीकाे व्यवस्था स्वयं व्यवसायीहरुले गर्नुपर्ने बताइएको थियो ।

व्यवसायीहरुको समर्थनमा रात्रीकालीन बजार सञ्चालन गर्ने निर्णय भएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए । पर्यटन विकास परिषद् लुम्बिनीका निर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशत पर्यटक रमाइलोका लागि आउने बताउँदै रात्रीकालीन व्यवसाय सञ्चालनले आर्थिक क्षेत्रमा टेवा पुग्नुको साथै बुटवल पर्यटकहरुको गन्तव्य बन्ने सुझाए ।

त्यस्तै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खस्किदो बुटवलको बजारलाई चलायमान बनाउन सहयोग पुग्ने जनाए । 

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले रात्रीकालीन बजार सञ्चालन सम्बन्धी गृह प्रशासनबाट छुट्टै केही प्रावधान तोकेको छ । ती प्रावधानहरु अवलम्वन गरेका व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा आएर अनुमति लिनुपर्ने बताए । साथै प्रजिअ पाण्डेले प्रावधानमा उल्लेख भएका नियमहरु कार्यान्वयन गरिएका छन् कि छैनन् भनेर जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेपछि र पूर्णकार्यान्वयन गरेको पाइए सो व्यवसायीले निर्वाधरुपमा सञ्चालन गर्न पाउने जनाए । 

उनका अनुसार हालसम्म जिल्लाको भैरहवा र बुटवलका गरी करिब १०/११ जना व्यवसायीहरुले मात्रै अनुमति लिएका छन् । अन्यथा प्रावधानको अवलम्वन, अनुमति बिना कोही कसैले पनि रातिमा बजार खोल्न नपाउने भन्दै नियम पालना गरी बजार सञ्चालन गर्न चाहनेलाई नरोक्ने स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ