arrow

महायज्ञ लगाउँदै मानवसेवा आश्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
ManabSewa Aasram.jpg

पोखरा । पोखराको मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ लगाउने भएको छ । निर्माणाधीन भवनका लागि रकम अभाव हुने भएपछि महायज्ञ लगाउन लागिएको बताइन्छ ।

मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले जानकारी दिए । 

‘पोखरामा बन्दै गरेको मानवसेवा आश्रमको निर्माणका लागि केही रकम अपुग हुने भएपछि हामीले महायज्ञको आयोजना गर्न लागेका हौं । यसअघि नेपथ्य लाइभ कन्सर्टको समेत आयोजना गरिएको यहाँहरुलाई विदितै छ । लक्ष्मी नारायण मन्दिरको निर्माण कार्य सम्पन्न गर्नेदेखि आश्रमको अक्षयकोष श्रीवृद्धिमा समेत यो कार्यक्रमबाट मदत पुग्ने विश्वास लिएका छौं’, उनले भने । 

जन्मिएर सामान्य न्यूनतम मानवअधिकार प्राप्त गर्न नसकी खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै मानव सेवा आश्रमले सेवा प्रवाह गरिरहेको उनले बताए । 

असहाय र अशक्तहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको उनले उल्लेख गरे । 

महायज्ञमा कमलनयन गौतमले कथावाचन गर्ने छन् । महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने आयोजकले जानकारी गराएको छ । 

मानवसेवा आश्रमको भवन निर्माणलाई सम्पन्न गर्न सरकारी निकायबाट समेत सहयोग मिलेको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहयोगबाट नै आफूहरुले भवन निर्माणको कार्यलाई अगाडि बढाएको अभिव्यक्ति अधिकारीको छ । तर दीर्घकालिन सोचअनुसारको योजना बनाउँदै थप परिस्कृत रुपमा मानवसेवा आश्रम अघि बढिरहेको उनले बताए । 

मानव सेवा आश्रमको संचालनमा ४० प्रतिशत अपनत्व सरकारको छ भने बाँकी सहयोगी मनहरुको रहेको जानकारी उनले गराएका छन् । ७० प्रतिशत अधिकार सरकारले लिएर बाँकी ३० प्रतिशत अधिकार सहयोगी मनहरुलाई सुम्पिने लक्ष्य मानव सेवा आश्रमको छ । 

अधिकारीका अनुसार मानव सेवा आश्रमले पोखरामा बन्दै गरेको भवन जस्तै अन्य १५ जिल्लामा समेत निर्माण गरिरहेको छ । आर्थिक मन्दी भएता पनि महायज्ञलाई सफल पार्न सम्पूर्ण पोखरेलीहरुले सहयोग गर्नेमा उनी आशावादी देखिन्छन् । मानव सेवा आश्रमले अहिलेसम्म सहयोगी दाताहरुको सहयोगबाट नै खर्च व्यवस्थापन गरिरहेको जानकारी उनले गराए । 

पोखरा-२५ का वडाध्यक्ष मोती तिमिल्सिनाले मानवसेवासँग समर्पित भएको मानवसेवा आश्रम आफ्नो वडामा स्थापना भएको देख्दा खुशी लागेको बताए । महायज्ञ होस् या मानव सेवा आश्रम संचालनमा परेका समस्याहरुलाई समाधान गर्ने गरी आफु लाग्ने प्रतिबद्धता उनको छ । 

कथावाचक कमल नयन गौतमले सरकारको मात्रै भर पर्नुभन्दा आफू पनि सामाजिक सेवा सक्रिय भए पुण्य मिल्ने बताए । उनले सेवाको सन्देश प्रवाह गर्न मानव सेवा आश्रमले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । 

मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।

हाल आश्रमले मुलुकभरबाट झण्डै आठ हजार सडक आश्रित मानवको उद्दार गरिसकेको छ । त्यसमध्ये एक हजारलाई पुन परिवारमा मिलन गराउन सफल भएको छ । 

पोखरा आश्रमले मात्र एक हजार जनाको उद्दार गरिसकेको जानकारी मानव सेवा आश्रमले गराएको छ । छोरेपाटन स्थित सेवा केन्द्र र हेमजा स्थित सेवा केन्द्रमा गरि १६३ जना सडकआश्रित मानवहरुले सेवा प्राप्त गरिरहेका छन् । 

मानव सेवा आश्रमको भवन निर्माणमा हालसम्म पाँच करोड खर्च भइसकेको र अब चार करोड लाग्ने अनुमान गरिएको छ । हालसम्म पहिलो तल्लाको निर्माण पूरा हुने चरणमा छ । अब भोजनका लागि डाईनिङ हल, स्टोर, भवनको दोस्रो, तेस्रो तल्लाको निर्माण, लिफ्ट, आँगन, कम्पाउन्ड, मेडिकल, थेरापि कक्ष निर्माण हुन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ