arrow

भूकम्पले बझाङ र बाजुरामा दर्जनौँ घर भत्किए

logo
सुनिल आउजी,
प्रकाशित २०७९ माघ १० मंगलबार
bajhang-earth.jpg

धनगढी । बाजुरालाई केन्द्र बनाएर मंगलबार दिउँसो गएको भूकम्पले बझाङ र बाजुरामा दर्जनौँ घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङ र बाजुराका अनुसार भूकम्पमा परी एक जना घाइते भएका र जिल्लाका अधिकांश पालिकाका भौतिक संरचनामा क्षति भएको छ ।

बाजुराको हिमाली गाउँपालिका बिच्छ्याँको मौलालाई केन्द्रबिन्दु बनाएर दिउँसो २:४४ बजे ५.९ रेकटर स्केलको भूकम्प गएको थियो ।

भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृष्ण जोशी घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी रिफर गरिएको छ । भूकम्पको धक्काले सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, केही होटल र निजी घरमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।

कृषि ज्ञान केन्द्रको भवनमा सशस्त्र प्रहरी बस्दै आएका छन् । यस्तै सुर्मा गाउँपालिकामा रहेको प्रहरी चौकीको भवनमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी  दिए ।

भूकम्पका कारण जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिका स्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरूमा क्षति पुगेको विवरण आइरहेको प्रहरीले जनाएको छ ।

दर्जनौँ घर भत्किएको खबर आइरहेका छन् । क्षतिको यकिन विवरण आइसकेको छैन, प्रवक्ता अवस्थीले भने, हाम्रा संयन्त्र मार्फत क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । मंगलबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण कतिपय ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएकाले क्षतिको यकिन विवरण आउन समस्या भएको बताइएको छ ।

मङ्सिरयता सुदूरपश्चिमका कतिपय स्थानमा थुप्रै पटक भूकम्पको धक्का महसुस हुने गरेको स्थानीयहरूले बताएका छन् । गाउँमा थुप्रै घर चर्किएकाले भित्र बस्न पनि डर लागिरहेको स्थानीयले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ