रुसले युक्रेनमा ३० क्षेप्यास्त्र हान्यो, २४ ड्रोन खसालिए
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
845
Shares
काठमाडौं। बिहीबार बिहान मास्कोको सेनाले युक्रेनमा ३० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनी वायु रक्षाले रुसी आक्रमणलाई रोक्न काम गरिरहेको युक्रेनी वायुसेनाले जनाएको छ।
वायुसेनाका प्रवक्ता युरी इहनतले युक्रेनी टेलिभिजनमा करिब छवटा रुसी टीयु-९५ विमानले 'रूसको मुर्मान्स्क क्षेत्रबाट उडान भरेको र क्षेप्यास्त्र प्रहार गरेको' बताएका छन्।
केही क्षेप्यास्त्रहरू युक्रेनको पश्चिम मध्य भिन्निट्सिया क्षेत्रमा प्रहार भएको गभर्नर सेर्ही बोर्जोभले टेलिग्राममार्फत जानकारी दिएका छन्। हताहतको विवरण भने उनले दिएनन्।
कीभको सैन्य प्रशासनका प्रमुख सेर्ही पोप्कोले टेलिग्राममा १५ भन्दा बढी क्रूज मिसाइलहरू कीभको दिशामा प्रक्षेपण गरिएको र त्यहाँ खसालिएको बताएका छन्।
अहिले युक्रेनमा देशैभर हवाई आक्रमणको अलर्ट जारी छ। यस्तै युक्रेनको अर्काे वायुसेना कमाण्डले यसले रातभरीमा २४ वटा रुसी आक्रमण ड्रोन खसालेको बताएको छ । संयुक्त राज्य अमेरिका र जर्मनीले बुधबार युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेपछि यो आक्रमण भएको हो।