arrow

कुश्मामा ‘नाटक घर’ सञ्चालनको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
kusma bazar.jpg
फाइल तस्वीर

बागलुङ । धौलागिरिमै पहिलोपटक कुशुमपुर रङ्ग भवन (नाटक घर) सञ्चालनको तयारी थालिएको छ । कला, संस्कृति र नदी सभ्यता जोगाउनका लागि यसका तयारी गरिएको हो ।

पर्वतको सदरमुकाम कुश्माका आरके अदिप्त गिरीको परिकल्पनामा शताब्दी घर मातहत ललितकलाका सम्पूर्ण विधालाई एकै थलोमा समेट्ने गरी नाटक घर बनाउने योजना अगाडि बढाउन लागिएको हो ।

कुश्मा बजारको माझगाउँस्थित तीन सय वर्ष पुरानो घरलाई मर्मतसम्भार गरी कलात्मक बनाउँदै गरेका गिरीले धौलागिरिमा पहिलोपटक नाटक घर निर्माण गर्न लागेका हुन् ।

“कला, संस्कृति र सभ्यता नै हाम्रा सक्कली परिचय हुन् । यी नरहे हामी को हौँ भन्ने प्रमाण पनि रहँदैन । त्यसैले पछिल्लो पुस्ताले बिर्सिंदै गएको संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्नु नाटक घरको उद्देश्य हो”, गिरीले भने ।

कला, संस्कृति, सभ्यता र सम्पदा समाजका अमूल्य पहिचान भएको उल्लेख गर्दै उनले यिनको संरक्षणका लागि कालीगण्डकी नदी बचाऔँ अभियान सञ्चालन गरेको बताए । गिरी सो अभियानको संयोजकसमेत हुन् ।

शताब्दी घरको आँगनलाई खुल्ला कला डबलीका रुपमा विकास गरिने उनले बताए । नेपाली पठन संस्कृतिलाई बढवा दिन पुस्तकालयको परिकल्पना गरिएको गिरी बताउछन् ।

“कला, अनुसन्धान, खोजलगायत गर्न खोज्नेका लागि अतिथि आवास गृह बनाउँदै छौँ । साथै रङ्ग भवनलाई बहुप्रयोजनका रुपमा सञ्चालनमा ल्याइने छ”, उनले भने । नाटक घरमा कलाको आवासीय कक्षा ‘आफ्टर स्कुल पाठशाला’समेत सञ्चालन गर्ने योजना छ ।

नाटक घरमा समाजका लागि उपयोगी कला, सीप र सिर्जनात्मक गतिविधि सञ्चालन गरिनेछन् । पछिल्लो समय परम्परादेखि चल्दै आएका चालचलन, रीतिरिवाज र कला संस्कृति भेट्टाउन मुश्किल भएको अवस्थामा आफूहरूले नाटक घरको सपना बुनेको कुश्मा कला परियोजनाका सदस्य रुपेश सापकोटाले बताए ।

फोटो पत्रकार र कालीगण्डकी दोहनविरुद्ध अभियान चलाई राखेका गिरीले पर्वतको कुश्माको मौलिकता जगेर्नाका लागि आफ्नो अगुवाइमा कुश्मा कला परियोजना स्थापना गरेका छन् । परियोजनाले समुदायसँग जोडिएर काम गर्न विभिन्न सोध र अन्वेषणका कार्यबारे गृहकार्य गरिरहेको छ ।

“रङ्ग भवन, कला, सङ्गीत, देश र विदेशमा रहेका कलाकारको आफ्नो कला, सङ्गीत र शिल्प साटासाट गर्ने बहुआयामिक थलो होस् भन्ने हाम्रो चाहना छ”,सापकोटाले भने । 

नाटकघर निर्माण भएपछि पर्वत र यस वरपरका जिल्लाका कवि, कलाकारले समेत आफ्नो प्रतिभा देखाउन पाउनेछन् ।

बागलुङको जैमिनीमा जन्मिएका गिरीले पर्वतको कुश्मास्थित आदर्श आवासीय माविबाट अध्ययन प्रारम्भ गरी उच्च शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय र विदेशसम्म पुगेर आर्जेको आफ्नो विशेषज्ञतालाई कुश्माको भूगोलमा केही गर्ने अठोटका साथ कुश्मा फर्किएका हुन् ।

काठमाडौंको  झल्को दिने गरी नाटकघर सञ्चालन गर्न लागेको गिरी बताउछन् । रङ्ग भवनको लागत रु एक करोडभन्दा बढी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ