arrow

व्यवसायिक रूपमा आलु उत्पादन गरेर लाखौँ कमाउँदै किसान

logo
राम धामी,
प्रकाशित २०७९ माघ १६ सोमबार
aalu-kishan.jpg

डडेल्धुरा । खेतमा लगाएको गहुँबाली नष्ट गरेर आलु खेती गरेका परशुराम नगरपालिका–६ कुडाका रनबहादुर धामीले एकै सिजनमा ५५ क्विन्टल आलु उत्पादन गरेर बिक्री गरेका छन् ।

गहुँ बालीकै भर परेको भए मुस्किलले तीन क्विन्टल गहुँ उत्पादन हुने गरेको उनले बताए । गहुँ उत्पादन भन्दा आलु उत्पादनबाट नाफा हुने भएपछि हाल पुरै खेतमा दुबै सिजनमा आलु खेती गरिरहेको धामी बताउँछन् ।

रनबहादुर मात्रै होइन, पछिल्लो समय डडेल्धुराका अधिकांश किसानहरू खाद्य बाली उत्पादन गर्न छोडेर आलु उत्पादनमा जुटेका छन् । आलु उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्न थालेपछि यहाँका कृषकहरू व्यवसायीक रूपमा आलु खेती तर्फ आकर्षित भएका हुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले डडेल्धुरामा परियोजना कार्यान्वयन इकाइ स्थापना गरेर आर्थिक वर्ष २०७३-०७४ देखि आलु बालीको जोन विकास कार्यक्रमको रूपमा काम थालेसँगै यहाँका किसानहरू आलु खेतीतर्फ आकर्षित भएका हुन । परियोजना शुरु हुनुभन्दा पहिला डडेल्धुरामा एक सय १० हेक्टर जग्गामा मात्रै आलु खेती गरिन्थ्यो ।

व्यवसायीक तरकारी उत्पादनका लागि विगत देखिनै अग्रणी मानिने डडेल्धुरा जिल्लाका केही बस्तीमा मात्रै व्यवसायीक रूपमा आलु खेती गरिने गरिएको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले काम थालेसँगै आलु खेती विस्तार भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए ।

हाल आलु सुपरजोनका रूपमा परियोजनाले आलु खेती बिस्तारका लागि किसानहरूलाई सघाउन थालेपछि जिल्लाभर सात सय ६० हेक्टर क्षेत्रफल जमिनमा आलु खेती भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि प्राविधिक शीतल भट्टले बताए ।

डडेल्धुराका सात वटै स्थानीय तहमा आलु सुपरजोनको क्षेत्र बिस्तार भएको परियोजनाले जनाएको छ । परियोजनाले एक सय २० वटा कृषक समूह, २० वटा सहकारी संस्था, ६० वटा व्यवसायीक फर्म, एउटा उद्योग र आठ वटा कम्पनी गरेर कुल दुई सय २९ वटा सरोकारवाला सूचीकृत संस्थाहरूसँग साझेदारीमा काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख धुव्रराज जोशीले जानकारी दिए ।

हाल डडेल्धुरा जिल्लाभरिका दुई हजार छ सय ९८ घरघरी किसानहरूको व्यवसायीक रूपमा आलु उत्पादन गरिरहेको उनले बताए । आलु सुपरजोन कार्यक्रमको भू–उपयोग विवरण अनुसार हाल अमरगढी नगरपालिकामा दुई सय १६ हेक्टर, गन्यापधुरा गाउँपालिकामा दुई सय ६६ हेक्टर, आलिताल गाउँपालिकामा दुई सय १० हेक्टर, परशुराम नगरपालिकामा दुई सय ८६ हेक्टर, अजयमेरु गाउँपालिका भागेश्वर दुई सय २० हेक्टर, भागेश्वार गाउँपालिकामा दुई सय ७८ हेक्टर र नवदुर्गा गाउँपालिकामा एक सय १२ हेक्टर जग्गामा व्यवसायीक रूपमा आलु खेती गरिएको छ ।

चालु आर्थिक वर्षमा मात्रै २६ वटा नयाँ क्लष्टरमा ८६ हेक्टर क्षेत्रफल जग्गामा आलु उत्पादनको क्षेत्र बिस्तार भएको परियोजना कार्यान्वयन इकाई डडेल्धुराले जनाएको छ । परियोजनाले साना सिँचाइ योजना अन्तर्गत १६ वटा समूह-सहकारी र फर्मसँग सम्झौता गरेर योजना कार्यान्वयन भइरहेको छ भने कृषि यान्त्रीकरण अन्तर्गत ५० प्रतिशत अनुदानमा ४२ वटा मिनिटिलर समूह-सहकारी र फर्मलाई वितरण गरिएको छ ।

परियोजनाले आगामी आर्थिक वर्षदेखि चक्लाबन्दीमा आलु खेती थप क्षेत्र बिस्तार गर्ने लक्ष्य लिएको आलु सुपरजोन कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख जोशीले बताए । परियोजना सुरु हुँदा आलु बालीको उत्पादकत्व १६ मेट्रिक टन प्रति हेक्टर रहेकोमा हाल २२.७२ मेट्रिक टन प्रति हेक्टर पुगेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

आलु बालीको उत्पादन लागत न्यूनीकरण गर्न परियोजना कार्यान्वयन इकाईबाट ५० प्रतिशत अनुदानमा छ सय ४६ कृषि सामग्रीहरू वितरण गरिएको छ । साना सिँचाइ योजना अन्तर्गत हालसम्म दुई सय ५४ वटा योजना सम्पन्न भइसकेको परियोजनाले जनाएको छ । आलु सुपरजोनको सहयोगमा २० हेक्टर बाँझो जमिनमा आलु खेती गरिएको छ ।

चक्लाबन्दीमा आलु खेती हुने क्लष्टरहरुमा जङ्गली जनावरको आक्रमण न्यूनीकरण गर्न करिब १० वटा क्लष्टरको करिब ८० हेक्टर जमिनमा घेरवार गरिएको छ । परियोजना अन्तर्गत भटमास जोन, अदुवा-बेसार जोन र सुन्तला जोन पनि सञ्चालन गरिएको कृषि प्राविधिक भट्टले बताए ।

आर्थिक वर्ष २०७६-७७ देखि परियोजना कार्यान्वयन इकाइ डडेल्धुरा अन्तर्गत भटमास जोन सञ्चालन भई जिल्लाका छ वटा स्थानीय तहमा भटमास खेती गरिएको उनले जानकारी दिए । भटमास जोन सुरु हुँदा भटमास बालीको उत्पादकत्व ०.६८ मेट्रिक मेट्रिक टन प्रति हेक्टर रहेकोमा हाल १.२४ मेट्रिक टन प्रति हेक्टर पुगेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

भटमास खेती जोन सञ्चालन हुनुभन्दा पहिले परम्परागत तरिकाबाट गरिँदै आएकोमा हाल उन्नत तरिकाबाट भटमास खेती भइरहेको कृषि प्राविधिक भट्टले बताए । डडेल्धुरामा उत्पादित आलु बिउको रूपमा पनि विभिन्न जिल्लाहरूमा सप्लाई हुने गरेको आलु सुपरजोन परियोजना समन्वय समिति डडेल्धुराले जनाएको छ । आलुसँगै यहाँका किसानहरूले बेमौसमी तरकारी खेती गरेर लाखौँ कमाई रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ