arrow

गहुँ आयात खुल्ने, स्टार्ट अप नीति अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
fncci-industrial-minister.jpg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आज सिंहदरवारमा भेट गरी उद्योग व्यवसाय प्रवद्र्धनका विषयमा छलफल गरेको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल र उद्योग मन्त्रीबीच सम्पन्न भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थीर ब्याजदरका कारण विशेषगरी साना व्यवसायी अत्यन्त प्रताडित हुनुु परेको बताए । 

इन्धनको मुल्य समायोजन हुन नसक्दा लागत बढ्न गइ मुद्रास्फितीमासमेत चाप परेको तथ्य उनले राखे । उद्योगहरुमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउने सम्बन्धी कानून यथाशीघ्र ल्याउनुु पर्नेमा जोड दिए । 
  
कोभिड यता लगानी हुन नसकेका कारण आगामी केही वर्ष अर्थतन्त्रमा समस्या कायम रहने कुरा पनि अध्यक्ष गोल्छाले सो अवसरमा राखे ।

भेटवार्तामा राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयनबारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्यका लागि आग्रह गरियो । 

महासंघको पहलमा तयार भएको स्टार्ट अप नीतिका सम्बन्धमा अन्तिम छलफल गरी पारित गर्नसमेत सो अवसरमा महासंघका तर्फबाट आग्रह गरियो ।

यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको पनि सो अवसरमा जानकारी गराइयो । मन्त्री भण्डारीले स्टार्ट अप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए । 

महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सीआईआई सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत सो अवसरमा आग्रह गरियो । 

भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरु समस्यामा परेकाले यसको निराकरणका लागि सरकारबाट यथाशीघ्र पहल हुनुपर्नेमा जोड दिइयो । यसबारे भारतसँग छलफल भैसकेको र तत्काल आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिए । 

नेपालबाट भारत निर्यात गर्दा जारी हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्न समेत महासंघका तर्फबाट सो अवसरमा सुुझाव दिइयो । 

मन्त्रालयसँगको साझेदारी अनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसँग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुु पर्ने धारणा सो अवसरमा व्यक्त गरियो । 

साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसँगको सहकार्यका लागि आग्रह गरिएको थियो । 

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावलाई आफूले अगाडि बढाउने र महासंघसँग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए ।
 
मन्त्री भण्डारीले बन्द हड्ताल एवं लोडसेडिंगका कारण उत्पादन वन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिए । 

यसैगरी बजेटको मध्यावधि समीक्षामार्पmत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गरिने जानकारी पनि उनले दिए । 

उनले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने विश्वास पनि दिलाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ