arrow

सम्पादकीय

सन्दीपप्रति क्यानको यतिधेरै लाचारी किन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २० शुक्रबार
sandeep-lamichhane-arrest.jpg
तस्बिर – फाइल ।

सन्दीप लामिछाने नेपाली क्रिकेट जगतका सबैभन्दा सफल व्यवसायिक क्रिकेट खेलाडी हुन् । उनले छोटो अवधिमै विश्वका चर्चित फ्रेन्चाइज टी–२० क्रिकेट खेल्न पाए । 

विश्वकै सबैभन्दा सफल र महङ्गो इन्डियन प्रिमियर लिग क्रिकेटमा खेल्न पाउने सन्दीप एकमात्र नेपाली क्रिकेट खेलाडी हुन् । उनको स्पिन बलिङको जादूले विश्वका कयौं क्रिकेट हस्तीहरु शिकार भइसकेका छन् । 

उनको बलिङको चर्चासँगै उनी कम उमेरमै नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पनि भए । उनी निकै तीव्र गतिमा चर्चामा छाए । नेपाल चिनाए । तर जसरी उनी विश्वमा छाए त्यसैगरी पतनको बाटो पनि उनले रोजे । 

अर्थात् उनी विगत छ महिनादेखि बलात्कारको आरोपमा मुद्दा खेपिरहेका छन् । गत भदौ ५ गते उनले एक नाबालिगलाई बलात्कार गरेको आरोप नाबालिगले लगाउँदै भदौ २१ गते उजुरी दिएसँगै २३ गते उनलाई जिल्ला अदालत काठमाडौंले पक्राउ गर्ने आदेश दिएको थियो । 

सन्दीप भदौ ६ गते केन्यासँग क्रिकेट खेल्न टोलीको नेतृत्व गर्दैै गएका थिए । उनी विदेशमै भएका बेलामा उनलाई पक्राउ गर्ने आदेश भएको थियो । भदौ २३ गते नै नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो । 

पक्राउ पुर्जी जारी भए पनि सन्दीप नेपाल फर्केनन् । उनी असोज २० गतेमात्र नेपाल आएका थिए । सोही दिन नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए । 

उनीमाथिको मुद्दा चलिरहँदा कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंले दुवै पक्षको बहसपछि थुनामा पठाउन आदेश दिएको थियो । 

सन्दीपले धरौटीमा रिहा हुनका लागि उच्च अदालत पाटनमा निवेदन दिएका थिए । पुस २८ गते उच्च अदालत पाटनले धरौटीमा रिहा हुन आदेश सुनाएको थियो । पुस २९ गते उनी २० लाख रुपैयाँ धरौटी बुझाएर छुटे । 

तर गम्भीर प्रकृतिको मुद्दामा धरौटीमा रिहा हुने नजिर नरहेको भन्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट हालेको छ । बिहीबार सर्वोच्चमा रिट दर्ता भएको छ । रिटमा उच्च अदालत पाटनको आदेश बदरसहित सन्दीपलाई नियन्त्रणमा लिएर मुद्दाको प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरिएको छ । आज पहिलो सुनुवाइ हुँदैछ ।

सन्दीपको मुद्दा गम्भीर तरिकाले अगाडि बढिरहँदा नेपाल क्रिकेट संघ क्यानले भने सन्दीपले मुद्दा जिते जसरी नै व्यवहार गरिरहेको छ । क्यानले बुधबार मात्रै सन्दीपको निलम्बन फुकुवा गर्यो । 

शुक्रबारदेखि नै सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमै सहभागी हुँदैछन् । सन्दीप अपराधी प्रमाणित भएका छैनन् । तर अपराध मुक्त पनि भएका छैनन् । उनी आरोपी हुन् । आरोपबाट मुक्त नभएसम्म र अदालतमा मुद्दा परिसकेपछि त्यसले कुनै निकास नदिएसम्म उनलाई खेल्न दिने अधिकार क्यानलाई पनि छैन । 

तर क्यानले यसलाई हल्का पाराले लिएर अदालतले दिएको आदेश बाहिर गएर निर्णय गरेको छ । यो अक्षम्य नै हो । त्यतिमात्र हैन क्यानले जुन खेलाडीको नेतृत्वमा टोली भदौ ६ गते केन्या जाँदै थियो त्यही खेलाडी भदौ ५ गते होटलबाट बाहिर निस्कँदा पनि कुनै ‘एक्सन’ लिएन । सन्दीपले खेलाडीको अनुशासन उल्लंघन गरेका थिए । खेलाडीको सबैभन्दा ठूलो गहना नै अनुशासन हो । 

उक्त टिमका तत्कालीन व्यवस्थापक र मुख्य प्रशिक्षकसमेत कुनै कारबाहीको दायरामा परेनन् । अहिले आएर क्यानले सबै मर्यादा भुलेर सन्दीपको निलम्बन फुकुवा गरेको छ । यसले क्यान विधिको शासन उल्लंघनतिर गएको स्पष्टै हुन्छ । आखिर सन्दीपप्रति क्यानले यतिधेरै लाचारी देखाउनु पर्ने कारण के हो ? 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ