- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पृथ्वीराजमार्गको आडैमा ऐनापहरा छ । आँबुखैरेनी गाउँपालिका-२ मा रहेको ऐनापहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य हो ।
ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवानका आकृति बनाउन शुरु गरेको छ ।
ऐनापहरालाई थप आकर्षक बनाउन प्राकृतिक ढुङ्गामा भगवानका आकृति कुद्न शुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
“पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा पार्क निर्माणको कामलाई तीव्रता दिएका छौँ, कालीगढ यतिबेला ढुङ्गामा भगवान्का आकृति कुध्न व्यस्त हुनुहुन्छ”, चुमानले भने ।
गाउँपालिकाले स्थानीय कालीगढलाई काममा लगाएर रोजगारीको अवसर प्रदान गरेको छ ।
ऐनापहरामा पार्क निर्माणका लागि चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
“ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ”, चुमानले भने, “सोहीबमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम शुरु भएको छ ।”
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल, खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् ।
पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको छ ।
राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।
“काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्”, उनले भने, “यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छ भन्दा पनि हुन्छ ।” यसका अलवा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि ऐनापहरा झरनामा आउने गरेका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । त्यसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँ, धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ, धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको छ ।
यहाँ स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । यस क्षेत्रमा सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ ।
गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । यसका अलावा चिसो मौसममा पनि यहाँ पुग्ने पर्यटकको उत्तिकै चाप रहने गर्दछ ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना तयार गरेको जनाएको छ ।
यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।