arrow

नेपाल-भारत ऊर्जा सचिव स्तरीय बैठक फागुन ५ र ६ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २९ आइतबार
nepal-india-flag.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँ बैठक भारतमा बस्ने तय भएको हो।

फेब्रुअरी १७ मा दुई देशका सहसचिव स्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप) र फेब्रुअरी १८ मा जोइन्ट स्टेयरिङ कमिटीको बैठक बस्ने भेटुवालले जानकारी दिए। “अर्को हप्ता तय भएको बैठकमा मुख्य गरी दुई देशको ऊर्जा सहकार्य, अन्तर्देशीय विद्युत् व्यापार, अन्तर्देशीय प्रशारणलाइन पूर्वाधार निर्माणलगायतका विषयमा छलफल हुनेछ। त्यस्तै दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पावर पर्चेज एग्रिमेन्ट) को विषय पनि यो बैठकको प्राथमिकतामा छ”, प्रवक्ता भेटुवालले भने।

हाल ६ सय मेगावाटसम्म बिजुली निर्यात गर्ने अनुमति पाएको ढल्केबर-मुजफ्फरपुर चार सय केभी अन्तर्देशीय प्रशारणलाइनबाट थप विद्युत् पठाउने विषय पनि यो बैठकमा नेपालले राख्नेछ। त्यस्तै, चार सय केभी नयाँ बुटवल-गोरखपुर, दुहबी-पूर्णिया र लम्की-बरेली अन्तर्देशीय प्रसारण लाइनका बारे पनि छलफल हुनेछ। भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेस गरेका आयोजनालाई स्वीकृति दिने विषयलाई नेपालले भारतसँग आग्रह गर्नेछ।

दोस्रो अन्तर्देशीय नयाँ बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणको प्रगति र भारतीय कम्पनी सतलज जलविद्युत् निगमले नेपालमा बनाइरहेको विद्युत् आयोजनाको प्रगतिबारे पनि छलफल हुने उहाँको भनाइ छ। नयाँ बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण निर्माणको काम नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त उपक्रममा बनेको कम्पनीबाट अघि बढाउने गरी दुई देशबीच सहमति भइसकेको उनको भनाइ छ।

गत वर्ष फागुन १२ मा काठमाडौँमा सम्पन्न भएको जोइन्ट स्टेयरिङ कम्पनीको नवौँ बैठकबाट नेपाल र भारतबीच संयुक्त रूपमा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा दुवै देशबाट तीन–तीन जना सदस्य सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने निर्णय भएको थियो। उक्त प्राविधिक टोलीको कार्यप्रगती बारे पनि समीक्षा गरिने जनाइएको छ।



नयाँ