arrow

साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रचण्ड [भिडियोसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने बताएका  छन्  ।

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ‘१६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले साना तथा घरेलु उद्योगका लागि सहजरुपमा कर्जा पाउने र त्यस्ता उद्योगबाट उत्पादित वस्तुको प्रवद्धनका लागि सरकारले केही महत्वपूर्ण नीतिगत व्यवस्था गर्न लागेको बताए ।

“सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवद्धन र संरक्षण गर्न आवश्यक छ । त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ”, प्रधानमन्त्री दाहालले भने ।

केही दशकअघि नेपालले कृषिउपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए ।

“हामी पाँच दशक अघि खाद्यान्न निर्यात गर्द थियौं। नेपालमा कृषिमा आधारित उद्योग बढी फस्टाउन सक्ने देखिएको छ । मौलिक उत्पादनलाई बजारीकरणका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ”,  उनले भने ।

लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताए । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने बताए । 

अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । “तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको छ । अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन ।” दाहालले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र केन्द्रीय महिला उद्यमी समितिले आयोजना गरेको प्रदर्शनी तथा मेला फागुन ६ गतेसम्म चल्नेछ । मेलामा करिब दुई लाखले अवलोकन गर्ने र रु आठ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ