arrow

धौलागिरी चक्रिय पदमार्ग नयाँ गन्तव्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
dhaulagiri-mountain.jpg

म्याग्दी । म्याग्दीस्थित  धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने भएको छ । संसारको सातौं अग्लो सो हिमाल  धवलागिरि गाउँपालिका-४ मा अवस्थित छ । 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकिङ व्यवसायी एजेन्सीज एशोसियशन (टान)का पदाधिकारीको छलफलबाट धौलागिरि चक्रिय पदमार्गलाई नयाँ गन्तव्य बनाउने विषयमा पोखरामा छलफल भएको हो । 

टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रिय पदमार्गलाई नयाँ गन्तव्य बनाउन छलफल गरिएको बताए ।

“गण्डकीको पुरानो अन्नपूर्ण चक्रिय पदमार्ग छोटिएपछि धौलागिरिलाई वैकल्पिक नयाँ गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवश्यकता महसुस गरेर पालिका र प्रदेश सरकारसँग छलफल गरेका हौँ,” उनले भने, “पालिका, प्रदेश र सङ्घीय सरकारले पूर्वाधार बनाउने, हामी निजी क्षेत्रले प्रवर्द्धनको काम गर्ने योजना बनाएका छौँ ।”

पर्यटनमन्त्री जुग्जालीले पर्यटकको चाहना र आवश्यकता अनुसार धौलागिरि, ढोरपाटन शिकार आधार, अन्नपूर्ण आधार शिविरलगायत नयाँ गन्तव्यमा पर्यटक भित्र्याउन पूर्वाधार विकासमा पालिका र सङ्घीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताए ।

सडकले छोटिएका पुराना पदमार्गको विकल्पमा नयाँ गन्तव्यको खोजी, विकास र प्रर्वद्धन गर्ने नीति प्रदेश सरकारले लिने उनको भनाइ थियो ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष पुनले पालिकाको सीमित स्रोतले नभ्याउने भएको हुँदा धौलागिरि चक्रियमा पूर्वाधार बनाउन प्रदेश र सङ्घीय सरकारको साथ चाहिएको बताए । 

म्याग्दीको दरवाङ, मुदी, बगर, दोभान हुँदै धवलागिरि आधारशिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रिय पदमार्गको भ्रमण र धौलागिरि हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या न्यून छ । 

आरोहीहरु हेलिकप्टरबाट सिधँै आधारशिविर पुग्ने र फर्कने हुँदा पदमार्गमा पर्ने गाउँलेले लाभ लिन पाएका छैनन् । पदमार्ग, पुल, आवास, खानेपानी र सञ्चार सुविधा विस्तारका लागि गाउँपालिकाले पहिलो चरणमा डिपिआर तयार पार्न लागेको उपाध्यक्ष रेशम पुनमगरले बताए । 

साइनबोर्ड, सूचना पाटी राख्ने काम तत्कालै गर्नुपर्ने पर्यटन व्यवसायीले सुझाएका छन् । अत्याधुनिक प्रविधिको सञ्चार सुविधा विस्तार गर्ने विषयमा पनि छलफल भएको उपाध्यक्ष पुनले बताए । 

बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ ट्रेकिङ गर्नुपर्ने हुन्छ । वर्षमा करिब दुई सय पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् ।

मनोरम हिमशृंखलासँगै अग्ला झरना, जङ्लको एकान्त वातावरण, नजिकै देखिने झारल, प्राकृतिक तातोपानी कुण्ड, भिरमह शिकार, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रिय पदमार्गको मुख्य आकर्षण हो । 

भीर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन पछिल्लो पाँच वर्षमा प्रदेश र सङ्घीय पर्यटन मन्त्रालयले रु. दुई/दुई करोड भन्दा बढी लगानी गरेका छन् । गाउँपालिकाले पनि यो पदमार्गको पूर्वाधारमा करिब रु एक करोड भन्दा बढी खर्चिएको छ । 

विभिन्न १२ स्थानमा झोलुङ्गे पुल र तीन स्थानमा साना ढल निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । 

पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको छ । देउरालीमा बिटिएस टावर राखेर बगरसम्म मोबाइल सेवा विस्तार गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ