arrow

मुग्लिन-पोखरा सडक विस्तार : १० प्रतिशत प्रगति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
muglin-road.jpg

काठमाडौं । मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कामको प्रगति न्यून छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो ।

मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ । दुवै खण्डको हालसम्मको प्रगति १० प्रतिशत रहेको छ । काम सम्पन्न गर्नुपर्ने म्याद १४ महिना बाँकी रहँदा प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको भौतिक प्रगति १५ दशमलव पाँच प्रतिशत रहेको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इञ्जिनीयर नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार यस खण्डमा नाली निर्माण, रिटेनिङ वाल निर्माण, भित्ता काट्ने र सडक फराकिलो बनाउने काम भइरहेको छ । विद्युत्का खम्बा स्थानान्तरण नहुँदा काम सुस्त भएको सुवेदीले बताए ।

त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ । यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ । यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको जनाइएको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ