arrow

पोखरा-भद्रपुर सिधा उडान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
buddha air.jpg
फाइल तस्वीर

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुशी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आउँदो मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । 

‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई कनेक्टिभिटिमार्फत पूर्व-पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिबद्ध छ’, स्टेशन म्यानेजर गौतम बरालले भने । उनले अब केही दिनपछि पोखरा-भद्रपुर उडान शुरु हुने जानकारी पनि दिए ।

म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार वटा विमान रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार ठाउँमा उडान भर्नेछन् । 

काठमाण्डौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान सवा ६ बजे विमान भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ बजेर ५५ मिनेटमा उडान हुने जनाइएको छ । हवाई उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ । 

पोखरा-भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उनले बताए । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने म्यानेजर बरालको भनाइ थियो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटी बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । 

‘पोखरा पर्यटकीय सहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ’, उनले भने ।

अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेकोप्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष आग्रह गरे ।  

पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरूले छिटो र आरामदायी यात्रामा रुचि राख्ने हुँदा एअर कनेक्टिभिटी पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए । 

पोखरा-भद्रपुर सिधा उडानले पर्यटन प्रवर्द्धन हुने उनको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताए । 

योसँगै बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि शुरु गर्दैछ । पोखरा वास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको संख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ ।

अहिले पोखरा-भद्रपुर सडक यात्रा गर्दा झन्डै १८ घण्टा बिताउनाका साथै २४ सय-२७ सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा नौ हजार छ सय ८५ रुपैयाँ पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ