arrow

एमालेले चकचक नगरे हुन्छ, गठबन्धन पाँच वर्ष जान्छ – गगन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १९ शुक्रबार
gagan-thapa-2079-11-19.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् । उनले गठबन्धन नटुट्ने दाबी गर्दै नेकपा एमालेलाई पाँच वर्षसम्म चकचक नगरी बस्नसमेत आग्रह गरेका छन् । 

राष्ट्रपति निर्वाचनको सन्दर्भमा आयोजित संयुक्त गठबन्धनका तर्फबाट बागमती प्रदेशका प्रदेश सभा सदस्यहरुका लागि राजधानीको नयाँ बानेश्वरमा गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गर्दै एमालेलाई चकचक नगर्न भनेका हुन् । 

उनले भने, ‘गठबन्धनको बैठकमा नेपाली कांग्रेसको तर्फबाट म पनि थिएँ । गठबनधन पाँच वर्ष जान्छ । एमालेले चकचक नगरे हुन्छ ।’

उनले गठबन्धन टिक्दैन कि र सरकार ढाल्ने षड्यन्त्र हुन्छ कि भन्ने आशंका मनमा नपाल्नसमेत आग्रह गरेका छन् । उनले यसलाई थप स्पष्ट पार्दै भने, ‘प्रचण्डलाई प्रधानमन्त्री हुन मात्र भएको भए त एमालेले पाँच वर्ष दिन्छु भनेकै थियो । एमालेले माधव नेपाललाई पनि राष्ट्रपति दिन्छु भनेकै थियो । तसर्थ यो गठबन्धन पदका लागिमात्रै भएको हैन एमालेको तानाशाही प्रवृत्तिविरुद्ध भएको हो ।’

कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले अहिले गठबन्धन आवश्यक भएको उल्लेख गर्दै एमालेको तानाशाह प्रवृत्ति अन्त्य गर्न पनि गठबन्धन जरुरी रहेको बताए । उनीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार भएको उल्लेख गर्दै पौडेल संसद विघटन हुँदा पनि खरो रुपमा विरोधमा उत्रिएको स्मरण गराए । 

एमालेको राष्ट्रपति भए फेरि पनि तानाशाह प्रवृत्तिको जन्म हुने भन्दै वक्ताहरुले अहिले कांग्रेसले राष्ट्रपतिमा जित्दा शक्ति पृथकीकरण हुने पनि बताए । 

अभिमुखीकरणमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे, बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा, कांग्रेस सांसद एवं बागमती प्रदेशका कांग्रेस सभापति इन्द्र बानियाँ तथा माओवादी कैन्द्रका सांसद सरल सहयात्रीले बोलेका थिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ