arrow

इरानी अधिकारीहरूसँग आणविक निगरानी निकायका प्रमुखको वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
iran-nuclear-deal.jpg

इरान । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुख राफेल ग्रोसीले युरेनियमका कणहरु हतियारको स्तरनजिक पुगेको भेटिएपछि तेहरानमा इरानी अधिकारीहरूसँग ‘रचनात्मक’ वार्ता भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का प्रमुख महानिर्देशकको दुई दिने भ्रमण भियनास्थित सङ्गठनले इरानसँग उसको आणविक गतिविधिमा अझ बढी सहयोग गर्न चाहेको बेला भएको हो ।

“रचनात्मक छलफल गरेर र राम्रो सम्झौताहरू भएको छ । मेरो विचारमा हामी महत्वपूर्ण सम्झौताहरूको लागि मार्ग प्रशस्त गर्न जाँदैछौं,” ग्रोसीले इरानका शीर्ष परमाणु अधिकारी मोहम्मद इस्लामीसँग एक पत्रकार सम्मेलनमा भने ।

इरानी अधिकारीहरूसँगको शृङ्खलाबद्ध भेटघाटमा ग्रोसीले राष्ट्रपति इब्राहिम राईसीलाई भेटेका थिए ।

रायसीले भने, “सहयोग दुई तर्फी सडक हो, आणविक निगरानी निकायको स्वतन्त्रता र इरानी राष्ट्रको अधिकारको आधारमा जारी राख्न सकिन्छ,” इरानको राष्ट्रपतिपदका राजनीतिक उपप्रमुख मोहम्मद जमशिदीले ट्वीटमार्फत् भनेका छन् ।

एक कूटनीतिक स्रोतले यसअघि एएफपीलाई दिएको जानकारीअनुसार रायसीसँगको भेटको उद्देश्य इरानको आणविक कार्यबारे ‘वार्तालाई पुनः सुरु गर्नु’ र ‘सम्बन्धलाई उच्च स्तरमा पुनः स्थापित गर्नु’ थियो ।

इरानको आणविक गतिविधिसम्बन्धी सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई पुनःजीवित गर्ने विषयमा भएको वार्तामा जारी गतिरोधबीच ग्रोसी शुक्रबार इरान आइपुगेका हुन् ।

तेहरानबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको इरानको भूमिगत फोर्डो प्लान्टमा ८३.७ प्रतिशतसम्म युरेनियमका कण फेला परेको आईएईएको गोप्य प्रतिवेदनमा उल्लेख छ ।

इरानले आणविक हतियार प्राप्त गर्न नचाहेको र ६० प्रतिशत शुद्धताभन्दा बढी युरेनियम संवद्र्धन गर्ने कुनै प्रयास नगरेको बताएको छ । इरानले युरेनियम संवद्र्धन गर्ने दुई ‘सेन्ट्रिफ्यूज क्लस्टर’बीचको अन्तरसम्बन्धलाई आईएईएमा नबुझी परिवर्तन गरेपछि यो समाचार बाहिरिएको हो ।

इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख इस्लामीले सन् २०१५ को सम्झौताका सबै पक्षलाई आफ्नो ‘दायित्व’ पूरा गर्न आह्वान गरेका छन् ।

“तीन युरोपेली र केही अन्य देशहरूले इरानको जेसीपीओए दायित्वमा मात्र ध्यान केन्द्रित गरिरहेका छन्,” उनले पत्रकार सम्मेलनमा भने । उनले थपे, “उनीहरूका पनि दायित्वहरू छन् जुन उनीहरूले पालन गर्न आवश्यक छ ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ