arrow

प्रचण्ड र रामचन्द्रलाई गाली गरेरै सिध्याए केपी ओलीले सांसदहरुको प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
uml-leaders-kp-bishnu-subash-shankar-prithvi-gokarna.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षण दिने क्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्ने बाहेक नयाँ कुरा केही बताएनन् । 

पार्टी कार्यालयमा देशभरका सांसदहरुलाई प्रशिक्षण दिने क्रममा उनी कांग्रेस नेता पौडेल र प्रधानमन्त्री प्रचण्डमाथि खनिएका हुन् । सोमबार एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि एमालेका प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा प्रदेश सभा सांसदहरूलाई प्रशिक्षण दिँदै प्रचण्डमा स्वार्थ र छलछाम बाहेक केही नभएको बताए । 

 ‘एक जना नेपालको नेता हुनुहुन्छ । पुस १० गते भएको सहमति तोड्नुभयो । सहमति तोडेर राष्ट्रिय सहमति रटान लगाइरहनु भएको छ,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘भएको सहमति तोडेर राष्ट्रिय सहमति हुन्छ ? कस्तो छलि कुरा ? राष्ट्रिय सहमति तोड्ने अनि राष्ट्रिय सहमतिको रट लगाएको लगाएकै गर्ने ? म त्यस पार्टीका कार्यकर्ता र माननीयहरुलाई भन्न चाहन्छु । एउटा व्यक्तिको स्वार्थ र छलछामको पछि तपाईहरु नलाग्नुहोस् ।’ 

प्रचण्डले हिजो एउटा परिवर्तनको सपना देखाएर धेरै क्षति गरेको आरोप पनि ओलीले लगाए । ‘अहिले पनि अनेक प्रकारका चटक देखाएर मान्छे अल्मल्याउने कोसिसमा उहाँ हुनुहुन्छ,’ ओलीले भन्नुभयो, ‘तपाईँहरु त्यो चटकबाट उम्किुनहोस् । तपाईंहरु बलिदानको पृष्ठभूमिबाट आउनु भएको छ । नेकपा एमालेले उपयुक्त पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । सबै पार्टीलाई आग्रह गर्न चाहन्छु । उपयुक्त पात्रलाई राष्ट्रपति बनाउन भूमिका खेल्नुहोस् ।’ 

उनले अब पनि सचेत नहुने हो भने देश अप्ठ्यारोमा पुग्ने चेतावनी पनि दिएका थिए ।  ‘अहिले तपाईहरुले विवेक पुर्याउनु भएन भने सच्याउन नसक्ने ठाउँमा मुलुक पुग्नेछ,’ ओलीले भने , ‘माननीयज्यूहरुलाई आग्रह गर्न चाहन्छु । अब सकारात्मक सोच र तथाकथित घेराभन्दा माथि उठेर गुण–दोषको आधारमा, योग्यताको आधारमा जिम्मेवारी दिने कुरामा तपाईहरु सचेत हुनुहोस् ।’ 

एमाले अध्यक्ष ओलीले राष्ट्रपति संविधानको रक्षक र पालक भएको भन्दै गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिवद्धताका आधारमा छनोट गर्नुपर्ने बताएका थिए । 

 ‘म सम्पूर्ण नेपाली जनतालाई अपिल गर्न चाहन्छु,’ उनले भने , ‘एमालेले दिएको उम्मेदवार बाहेक यस्तो उम्मेदवार अरु छैन । गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिवद्धताका आधारमा उम्मेदवार छनोट गर्ने अरु दलको नीति नै छैन ।’

त्यसक्रममा राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई छान्दा राजनीतिक परिवर्तनको एउटा महत्वपूर्ण विन्दुको शुरुवात हुने बताउँदै संक्रमणकालीन र द्वन्द्वकालीन मुद्धाहरु माओवादी र कांग्रेस दुवैले नटुंग्याएको बताएका थिए ।  

ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला नै संक्रमणकालीन न्यायको कुरा, शान्तिप्रक्रियालाई टुंगोमा लैजाने कुरालाई पटक–पटक आग्रह गरेको बताउँदै कांग्रेस र माओवादीले नै नमानेको दाबी गरे ।  ‘तर, उहाँ (प्रचण्ड)ले विभिन्न बहानामा मान्नु भएन । म दोस्रो पटक प्रधानमन्त्री हुँदा र उहाँ र म एउटै पार्टीमा रहेका बेला पनि करीब ३ वर्षसम्म यो विषयलाई टुंगोमा लैजाउँ, अलमल्याउनु हुँदैन त्यो लम्बियो भने त्यसले पछि जटिल समस्या सिर्जना गर्छ भन्दा मेरो कुरामा ध्यान दिनुभएन,’ ओलीले भने, ‘मैले शेरबहादुर देउवा र प्रचण्ड दुबैलाई तपाईहरु सरोकारवाला पक्ष म तटस्थ छु । तपाईहरुले जे–जे भन्नुहुन्छ म दायाँबायाँ औँठा छाप होइन पञ्जा र खुट्टाले पनि सही गराउन तयार छु भन्दा मान्नु भएन ।’ 

ऐन बनाउने बेलामा ऐन बनाउन नदिने, काम गर्ने बेलामा काम गर्न नदिने, समिति र आयोग बनाउने बेलामा बनाउन नदिने, वर्षौंसम्म व्यवधान खडा गर्ने काम भएको टिप्पणी गरेका थिए । ‘सत्य तथा मेलमिलाप निरुपण आयोगमा माओवादीकै नेताले व्यवधान खडा गरेर काममा अवरोध भयो । हामी अहिले पनि चाहन्छौँ । यो शान्ति प्रक्रिया हामीले अघि बढाएको हो । टुङ्याउनुपर्छ,’ उनले भने, ‘यसलाई अनवरत राख्ने र पीडित सधैँ पीडित भै राख्ने, पीडितले न्याय नपाउने कुराको अन्त्य हुनुपर्छ भनेर अस्ति भर्खरको सरकारलाई पनि भनेको हो । तर, प्रचण्डको त्यतातिर ध्यान भएन । भित्रभित्र बेइमानी गर्ने, धोका लिने जस्ता कुरामा मात्रै अघि बढ्नुभयो ।’  

रामचन्द्रमाथि ओलीले प्रहार गर्दै  सभामुख हुँदा राष्ट्रियतामाथि उनले गरेका गल्तीको तिथिमिति गोकुल बाँस्कोटाले टिपेर राखेकासमेत बताए । ‘नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रजातन्त्रका लागि लामो समयदेखि लाग्दै आउनु भएको छ । तर उहाँले सभामुख हुँदा के गर्नुभयो हामीले देखेका छैनौँ ?,  ओलीले भने , ‘गोकुल बास्कोटाले तिथिमिति टिपेर राख्नुभएको छ । गोकुल बास्कोटालाई तिथिमिति सबै थाहा छ । मैले संसदमा २०५५ साल साउनमा कालापानी क्षेत्रमा भारतीय सेना छ । नेपालको भू–भागमा भारतीय सेना रहेको विषयमा छलफल गरौँ भन्दा उहाँले छलफलको विषय नै होइन भनेर सभामुखको अधिकार प्रयोग गरेर सांसदहरुको अधिकार खोस्नु भएको थियो ।’ 

त्यतिबेला पौडेलले बहुमतको अहंकार देखाएर राष्ट्रियताको त्यस्तो गम्भीर विषयको प्रस्तावमा छलफल हुन नदिएर पदको दुरुपयोग गरेको बताउँदै ओलीले भने ‘ एमाले फुटाउन महत्वपूर्ण भूमिका खेल्ने मान्छे रामचन्द्र पौडेल हुन्,’ उनले भने, ‘संसदीय बेठीक अभ्यासको श्रुआत गर्ने उहाँ नै हो । केही पनि पालना गर्नु नपर्ने जे पनि कुल्चिन मिल्ने व्यक्ति हो । व्यक्तिगत रुपमा उहाँ मेरो साथी हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ