arrow

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २५ बिहिबार
13th-rastrapati-raning-03.jpg

रुपन्देही । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बुटवलमा फागुन २८ देखि ३० गतेसम्म १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । समितिले बिहीबार उक्त प्रतियोगिताको व्यवस्थापन तथा निर्देशन समितिको बैठक आह्वान गरी मिति र सम्पन्न गर्नका लागि गठन गरिएका समितिहरुको बारेमा जानकारी गराएको हो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद अर्याल सहितको सर्वपक्षीय बैठकमा पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, प्रदेश खेलकुद परिषद् लुम्विनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई, सुकुम्बासी समस्या आयोग रुपन्देहीका प्रमुख हरिबहादुर आचार्य, नेपाली सेनाका दिपेन्द्र न्यौपाने, सशस्त्र प्रहरीका दिपेन्द्र पौडेल र नेपाल प्रहरीका सन्तोष घिमिरे लगातयको उपस्थितिमा बसेको बैठकले विभिन्न निर्देशन समितिसमेत गठन गरेको छ । 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र सैनामैना नगरपालिकाले सहभागिता जनाएको भएका छन् । जिल्लामा १६ वटा स्थानीय पालिका भएपनि तर उक्त प्रतियोगितामा अन्य ६ वटा पालिकाले सहभागिता नजनाउने भएका हुन् । 

प्रतियोगितामा फिल्डतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सर्ट फुट तथा ट्रयाकतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ सय मिटर हुनेछ । रिलेतर्फ ४-१ सय मिटर, ४-४ सय मिटर, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु लगायत खेलमा छात्र–छात्रा दुवैलाई समाहित गरिने भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिले बताए ।

खेल सिद्धेश्वरी खेल मैदान दीपनगरमा हुने भएको छ । बैठकमा अध्यक्ष हरिले न्यूनतम स्रोतबाट जिल्लाका लागि ठूलो प्रतियोगिता आयोजना गर्न थालिएको बताउँदै आर्थिक संकटताका बाबजुत पनि प्रतियोगिता सफल गर्न लागेको बताए । उनले स्थानीय बुटवल उपमहानगरपालिकाले नगर कप खेलाउँदा १३/ १४ लाख रुपैयाँ खर्च गर्न सक्ने तर जिल्लालाई जम्मा ४ लाख ५० हजार रुपैयाँ मात्रै दिएर उपेक्षा गरेको जनाए । 

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद अर्यालले मानव विकासको प्रमुख आधार भनेको खेलकुद भएको भन्दै, खेलकुदमा राज्यले न्यून लगानी गर्दै आएकोमा आगामी दिनमा संघ सरकार लगायत स्थानिय पालिकाले पनि लगानी छुट्याउनु पर्ने सुझाव दिदंै प्रतियोगितामा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन आफु प्रतिबद्ध रहेकोसमेत बताए ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले रुपन्देहीलाई खेलकुद क्षेत्रमा इपिसेन्टरको रुपमा चिनाउने गरी खेलकुदलाई अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले न्यूनतम स्रोत साधनले उच्चतम काम गरेर देखाउन बिभिन्न निर्देशन समितिका प्रमुखहरुलाई आग्रह गरे । सुकुम्बासी समस्या आयोग रुपन्देहीका प्रमुख हरिबहादुर आचार्य र पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले खेलकुद मुलुकलाई चिनाउने माध्यम भएकाले यसको महत्वलाई बचाई राख्न भन्दै जसरी ब्राजिलले आफ्नो देशको नाम फूटबलमा स्थापित गरे झैं हामीले पनि सक्रियता जनाउनु पर्ने जनाएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ