arrow

माओवादी घटक एक नहुँदै विभाजित, तीन दलका नेता टाढिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
maobadi-dhar-press-meet.jpg

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्धा परेपछि जनयुद्धकालीन मुद्दा उठाइएको भन्दै त्यतिबेला जनुयद्ध लडेका माओवादी घटक संगठित नहुँदै विभाजित भएका छन् । 

व्यक्ति हत्याको विषयलाई लिएर सर्वोच्च अदालतले प्रचण्डलाई कारण देखाउ आदेश जारी गरिसकेको अवस्थामा आइतबार जनयुद्धकालीन नेताहरु एक ठाउँ उभिएर संयुक्त पत्रकार सम्मेलन गर्ने चरणमै विभाजित भएका हुन् । 

शान्ति प्रकृयालाई टुंगो लगाउने विस्तृत शान्ति सम्झौता नै धरापमा परेको भन्दै गत फागुन २३ गते आठ माओवादी घटकको बैठकले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो  । तर आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दा तीन वटा धार बाहिर बस्यो । 

फागुन २६ गते दोस्रो पटक बैठक बसेर बैठकले संयुक्त पत्रकार सम्मेलन र संक्रमणकालीन न्यायका विषयलाई संयुक्त अन्तरक्रिया गर्ने निर्णय गर्दै टुंगिएको थियो । तर संयुक्त पत्रकार सम्मेलन प्रस्तुत गरिने ड्राफ्ट नै फरक परेपछि मोहन वैद्य किरण, धर्मेन्द्र वास्तोला र गोपाल किराँती पत्रकार सम्मेलनमा उपस्थित भएनन् । 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा तयार गरेको ड्राफ्टलाई प्रधानमन्त्री प्रचण्डले आफू अनुकुल बनाएपछि मोहन वैद्य किरणहरु त्यहाँ उपस्थित नभएको स्रोतले जनाएको छ । 

‘प्रधानमन्त्री प्रचण्डले महराले बनाएको ड्राफ्ट संशोधन गरेको भन्दै उहाँहरु उपस्थित हुनु भएन’, स्रोतले भन्यो । तर किरणहरुले यो विषयमा आधिकारिक धारणा व्यक्त गरिसकेका छैनन् । 

माओवादी धारको दुई बैठक संयुक्त रुपमा भएपछि  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी अलग भएपछि अहिले माओवादीवृत्तमै तरंग उत्पन्न भएको छ । 

आइतबारको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएनन् । महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेल लगायत दोस्रो र तेस्रो तहका नेताहरु सहभागी भएका थिए । 

अरु पाँच दलका शीर्ष नेताहरु नै सहभागी भए पनि प्रधानमन्त्री प्रचण्ड र तीन दल सहभागी नभएपछि संयुक्त पत्रकार सम्मेलनको महत्व नै नभएको भन्दै उपस्थित भएका दर्शकहरुले समेत आयोजकको आलोचना गरेका थिए ।  

पत्रकार सम्मेलन भनिए पनि अन्तिममा ६ दलद्वारा हस्ताक्षर गरिएको अपिल सार्वजनिक गरेर प्रश्न उत्तरसमेत गरिएन । माओवादी धारका ६ दलका नेताहरुले बोलेर संयुक्त पत्रकार सम्मेलन सकिएको थियो । 

संयुक्त पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, नेकपा महासचिव विप्लव, वैज्ञानिक समाजवादीका संयोजक आहुति, नेपाल समाजवादीका नेता हिसिला यामी, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढा, आमजनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो धारणा राखेका थिए । 

माओवादीभित्र प्रचण्डका कारण बाहिरिएका नेताहरु पछिल्लो समय पनि एकजुट हुन सकेनन् । उनीहरु एकजुट हुननसकेको अवस्थामा प्रचण्डले आफ्नो मात्रै बचाउ गर्न खोजेको सरकारले गरेका कामको बारेमा जस लिन खोजेको भन्दै किरणहरु बाहिर बसेको स्रोतको दाबी छ ।

 ‘यसको सबै जस प्रचण्डजी एक्लैले लिन खोज्नुभयो साथै सरकारले गरेका कामको विवरण समेत प्रस्तुत हुने अवस्था आयो त्यसकारण हामी सहभागी हुनु र नहुनुमा केही अर्थ रहेन’, किरण समूहका एक नेताले भने ।



नयाँ