- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ओखलढुङ्गा । मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका-४ कुहिभिरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका-५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया राधा भुजेल, मानेभञ्ज्याङ गाउँपालिका-६ का २४ वर्षीय देवबहादुर सार्की, चिशङ्खुगढी गाउँपालिका-४ बस्ने २६ वर्षीय सञ्जित राई र उदयपुरको कटारी नगरपालिका-२ बस्ने ३४ वर्षीया कुमारी मगरको घटनास्थलमै मृत्यु भएको हो ।
ओखलढुङ्गाका पाँचै जना मृतकको शवपरीक्षणका लागि ओखलढुङ्गा लगिएको र उदयपुरका एकजनाको शव सिन्धुली अस्पताल ल्याइएको उनले सिलवालले दिए । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नंको बसमा चालकसहित ३६ जना सवार थिए । तीनजना गम्भीरसहित घाइते १६ जनालाई उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक सिलवालको भनाइ छ ।
घाइते आठजनालाई हेलिकप्टर र आठजनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं पठाइएको हो । सामान्य घाइते रहेका १४ जनाको स्थानीय अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । बस ब्रेक फेल भएर अन्यन्त्रित भई भित्तामा ठोकिन पुग्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।