arrow

कन्तविजोग मुख्यमार्गको

समय सकियो, बुटवल–नारायणगढ विस्तार सकिएन

चार वर्षमा जम्मा २५ प्रतिशत काम

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन २९ सोमबार
Butwal-Narayaghat- Bistar-Road-1.jpg

रुपन्देही । एक सय १३ किलोमिटर बुटवल–नारायणगढ सडकखण्डलाई चार लेनमा विस्तार गर्ने २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ एसोसिएसन र सडक विभागबीच सम्झौता भएको थियो । दुई खण्डमा विभाजन गरेर विस्तार गर्नेगरी सो कम्पनीलाई नै जिम्मा दिइएको थियो ।

तीन जिल्लामा पर्ने बुटवल–नारायणगढ सडकखण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको सडकको विस्तारकार्य निर्माण शुरु भएको ४ वर्ष बितिसक्दासमेत सडकको भौतिक प्रगति भने हालसम्म २५ प्रतिशत मात्रै भएको छ ।

२०७५ मा ठेक्का सम्झौतापछि ८ चैत ०७५ मा सडक विस्तार कार्यको शिलान्यास गरिएको थियो । त्यतिबेला ४२ महिनामा सडक निर्माणकार्य सम्पन्न गर्ने जनाइए पनि ठेकेदार पक्षको ढिलाईका कारण अझै सम्पन्न भएको छैन । पहिलोपटक तोकिएको समयावधि सकिन अब हप्ता दिन मात्रै बाँकी रहेको छ । 

बुटवल–बर्दघाट सडकखण्डमा पर्ने ४८ किलोमिटर सडकमा अहिले २० प्रतिशत हाराहारी काम भएको प्रमुख इञ्जिनियर प्रदीप शाक्यले जनाएका छन् । उता बर्दघाट–गैँडाकोट क्षेत्रमा हालसम्म करिब १९ प्रतिशत मात्रै काम भएको जनाइएको छ । यो सडक विस्तार गरी चार लेनको बनाइएपछि बुटवलबाट नारायणगढको यात्रा डेढ घण्टाको हुने अपेक्षा गरिएपनि अहिले करिब ६ घण्टाको यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् ।

शिलतनगरबाट दैनिक रुपमा बुटवल सर्भिसका लागि आउने एक धनकुमारी थापाले भनिन्, म यो बाटो सधै हिँड्छु, धुलोले कपडा र नाक मुख र आँखामा पर्छ । पानी हालेकोे बेला त झन दैनिक मोटरसाइकल, स्कुटर चिप्लिएर लडेका हुन्छन् । जसले गर्दा दुर्घटनाको पनि उच्च जोखिम छ ।   

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले गति लिन नसकेपछि नागरिकहरु झन्झटिलो यात्राबाट आजित भएका छन् । स्थानीयहरु भन्छन्, जिम्मेवार निकायले कडा अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन सकेको छैन् । केही महिनाअघि सडक विभागले तोकिएको समयावधिभित्र निर्माणको काम नसकिए ठेक्का तोड्ने भन्दै सूचनासमेत प्रकाशित गर्यो । तर सडक विभागले ठेक्का तोड्न सकिन । 

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार कम्पनीले अझै सोचे अनुरुपको काम गर्न नसकेको बताउँदै, काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामै थियौँ । तर पछि कम्पनीले काम गर्छौ भनेर आश्वासन दिएपछि पुनः ६ महिना हेरौँ भनेर समय दियौँ । तर अझै पनि काम अलपत्र छ । तोकिएको समय पनि सकिन लाग्यो ।

तर पछिल्ला केही दिनयता पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको निर्माणमा असन्तुष्टि जनाउँदै ठेक्का रद्ध गर्ने विषयले चर्चा पाएको छ ।

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले नवलपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बुटवल–नारायणगढ विस्तारको काम तीब्र गतिमा अगाडि नबढाए सरकारले ठेक्का तोड्ने बताएपछि  सो विषय निकै चोटिलो बन्न पुगेको छ । ठेकेदारले उक्त सडकखण्डका ठाउँ–ठाउँमा पूल र कल्भर्ट निर्माणलाई जोड दिएको छ भने राजमार्गका ठाउँ–ठाउँमा भत्काएर छाडेको छ ।

लामो समय खाडल, धुलो र हिलोले यात्रुहरु मर्कामा परेका छन् । निर्माण सम्पन्न गर्ने समयावधि सकिनै लाग्दा समेत सडक विस्तार निकै सुस्त देखिएपछि अब सो आयोजना के हुन्छ भन्ने कुरा गम्भीर बनेको छ । 

आयोजनाका अनुसार बुटवल–बर्दघाट सडकखण्डमा अहिले ८० वटा कल्भर्ट निर्माण भएका छन् भने ५० वटा कल्भर्टका अधिकांश काम सकिएको छ ।

यो खण्डमा २४० वटा कल्भर्ट निर्माण गर्नुपर्ने प्रमुख इञ्जिनियर शाक्य बताउँछन् । तर अझैसम्म आधा जति काम बाँकी रहेको उनको भनाइ छ । उनले ठेकेदारले नै काममा ढिलाइ गर्दा सम्पन्न नभएको बताए ।

काम नसकिने भएपछि कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएकोसमेत बताइएको छ । यता चिनियाँ कम्पनीले भने शुरुमा सडक विस्तारका लागि रुख कटानमा ढिलाइ र कोरोना महामारी लगायतले ढिला हुन पुगेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ