- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । बुटवलमा चैत्र ४ गतेदेखि शुरु हुन लागेको २२ औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । रुपन्देही जिल्ला फुटबल संघले आयोजना गर्न लागेको प्रतियोगिताको खेल तालिका बुधवार आयोजकले सार्वजनिक गरेको हो ।
खेल तालिकाअनुसार उद्घाटन खेलमा रुपन्देही ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ । गोल्डकप प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले वताए । प्रतियोगिता चैत्र ११ गतेसम्म हुनेछ ।
तालिका अनुसार चैत ५ गते हिमालय शेर्पा र थ्री स्टार, ६ गते एपीएफ क्लब र फ्रेण्ड्स क्लब, ७ गते मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
८ र ९ गते सेमिफाइनलका खेल हुने भएको छ भने चैत ११ गते गोल्डकपको फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेता टिमले गोल्डकप संगै ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।
उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिने आयोजकले वताएको छ ।
प्रतियोगिता अवधिभर उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र प्रशिक्षकलाई समेत जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने, संघका महासचिव हिमाल गौचनले जनाए । मोफसलमा सर्वाधिक पुरस्कार राशीको तिलोत्तमा गोल्डकप प्रतियोगिताको लागि १ करोड ८ लाख रुपैयाँ भन्दाबढी खर्च हुने अनुमान गरिएको छ ।