arrow

सम्पादकीय

क्रिकेट टिमलाई बधाई ! सरकारलाई चुनौती 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
nepali-cricket-fan-tu.jpg

नेपाली राष्ट्रिय क्रिकेट टिमले यसपालि ठूलै सफलता हासिल गरेको छ । नेपाल विश्वकप लिग २ क्रिकेटमा पछिल्ला १२ मध्ये ११ खेल जितेर विश्वकप एक दिवसीय क्रिकेटको छनोट चरणमा सिधै छानिन सफल भएको हो । बिहीबारको खेलमा त झनै कठिन चुनौतीको सामना गर्दैै यूएईलाई हराएर कीर्तिमान नै बनायो । 

नेपालले उक्त खेल जितेरै विश्वकप क्वालिफायरमा सिधै छानिन पाएको हो । यो खेल हारेको भए नेपालले क्वालिफायर खेल्न प्लेअफ खेल्नुपर्ने थियो । अब नेपालले सिधै टेष्ट मान्यताप्राप्त राष्ट्रहरुसँग भारतमा हुने विश्वकपका लागि जिम्बावेमा क्वालिफायर खेल्नेछ । 

नेपाली सिनियर टिमले यो अवस्थासम्म आइपुग्दा निकै ठूलो मेहनत गरेको छ । जबकि यही विश्वकप लिग २ मै टिमले आधा दर्जन मुख्य प्रशिक्षकलाई बेहोरिसकेको छ । र, अन्तिममा आएका भारतीय मुख्य प्रशिक्षक मोन्टि देसाईले नेपाली युवा खेलाडीलाई निकै नै नजिकबाट नियालेर उनीहरुको क्षमतालाई निखार्ने काम गरेका छन् । 

जसरी खेलमा खेलाडी र प्रशिक्षकको भूमिका हुन्छ त्यो भन्दा कयौं गुणा बढी भूमिका व्यवस्थापनको हुन्छ । बिहीबार खेलाडी र प्रशिक्षकले जसरी आफ्नो क्षमता देखाए त्यसरी नै व्यवस्थापन गर्ने जिम्मा लिएको नेपाल क्रिकेट संघसँगै सरकारको उपस्थितिले खेलाडीहरुलाई उत्साह थप्यो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं आफैँ मैदानमा पुगेर खेलाडीहरुलाई हौसला प्रदान गरे । यो निकै सकारात्मक पक्ष हो । टिमले जित्दा सरकारले पुरस्कारको व्यवस्था पनि गर्दै आइरहेको छ । 

तर अब त्यत्तिले मात्र अवश्य पुग्ने छैन । सरकारको दायित्व अहिलेसम्म सरकारले निभाएकै छैन । जितेपछि पुरस्कार दिएरमात्रै जिम्मेवारी पूरा हुँदैन । क्रिकेटमार्फत खेलाडीहरुले नेपाललाई विश्वमा चिनाइरहेका छन् । तसर्थ सरकारले यो खेलमा दीर्घकालीन लगानी गर्न सक्नुपर्छ । 

एसोसिएट राष्ट्रमा सबैभन्दा बढी क्रिकेटका दर्शक भएको देश नेपाल हो । तर त्यही देशमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान छैन । एउटै भएको त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा दर्शकले भुइँमा पलेँटी कसेर बस्नुपर्छ । र पनि दर्शकले खचाखच भरिन्छ मैदान वरिपरिको खाल्टाखुल्टी भाग । 

बिहीबार दर्शकहरुले प्रधानमन्त्री प्रचण्डको कानमै पर्ने गरी दर्शक अट्ने रंगशाला चाहियो भन्दै मागसमेत गरेका छन् । विश्वमा खेल्ने टिम छ । विश्वकप खेलेको हेर्ने चाहना राख्ने सरकार छ । तर सरकारको लगानी नगन्य छ । 

हुनत सरकारले खेलकुद क्षेत्रलाई नै महत्व दिएर हेर्न सकेकै छैन । दलहरुका चुनावी घोषणापत्रमा औपचारिकता दिनका लागि लेखिए पनि ती दलका नेताहरु सरकारमा गएपछि त्यसले प्राथमिकता नै पाउँदैन । 

बनाउन थालेका पूर्वाधार पनि लथालिङ्ग छन् । खेलकुदको मुद्दालाई सरकारले प्राथमिकतामा राखेकै छैन । अब सरकारले गम्भीरपूर्वक लगानी गर्न सक्नुपर्छ । बजेट बनाएरै अत्यावश्यक पूर्वाधारहरु जतिसक्यो छिटो बनाउन सक्नुपर्यो । 

खेलसँगै खेलाडीहरुको नियमित आर्थिक उपार्जनको माध्यम बनाउन सक्ने हो भने उनीहरुको मनोबल बढ्छ । साथै खेलाडीले बाह्रै महिना प्रशिक्षण लिन सक्ने वातावरण बनाउनु पर्छ । 

जसरी उत्साह थप्न प्रधानमन्त्री प्रचण्ड बिहीबार कीर्तिपुर मैदानमा पुगे त्यसरी नै अब क्रिकेटका बनाउन बाँकी रहेका कामहरु पूरा गर्न पनि सक्रियता देखाउनु पर्छ । प्रधानमन्त्रीमात्र हैन विभिन्न दलका नेताहरु पनि कीर्तिपुरमा पुगे । त्यो केबल रमाइलोका लागिमात्र नहोस् । संसदमा यसबारे दरिलो आवाज उठाएर सरकारलाई झक्झक्याउने हैसियत राख्न सकुन् । 

सरकारले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन थालेका अपूरा कामहरु पूरा गर्नुपर्छ । खेलकुद राष्ट्रको हो । कुनै दल विशेषको हैन भन्ने कुरालाई विशेष ध्यानमा राखेर सरकारले काम गरोस् । 

नेपाली क्रिकेटको अहिलेको सफलताप्रति खेलाडीहरुलाई बधाई । अबको दीर्घकालीन सोचका लागि सरकारले गम्भीर भएर योजना बनाओस् । यो सरकारका लागि चुनौती नै हो । 

सरकारले मात्र यसमा ध्यान दिन सक्छ भन्ने हैन । तर सरकारले निजी क्षेत्रलाई पनि आकर्षित गर्न सक्छ । हरेक निजी क्षेत्रको समाजकल्याणकारी कोष हुन्छ । त्यसलाई पनि खेलकुदमा लगानी गर्न सकिन्छ । अधिकांश त्यस्ता क्षेत्रले खेलकुदलाई रमाइलोका लागिमात्र खर्चेको पाइन्छ । त्यसको पनि सही सदुपयोग गर्ने हो भने क्रिकेट मात्र होइन हरेक खेलले अवसर पाउँछ । 

खेलकुदले पर्यटन क्षेत्रलाई त निकै नै प्रभाव पारेको हुन्छ । त्यसैले पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरका केही मैदान बनाएर बाहिरबाट टिमहरु बोलाएर खेलकुदमा आकर्षण त वृद्धि गर्न सकिन्छ नै पर्यटन क्षेत्रको पनि श्रीवृद्धि हुनेमा शंका छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ