काठमाडौं । नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालयसहित तीन मन्त्रालय दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले पार्टीले गृह मन्त्रालयसहित तीन मन्त्रालयको दाबी गर्ने बताएका छन्। उपराष्ट्रपतिको निर्वाचनका लागि मतदान पछि पाण्डेले यस्तो बताएका हुन् ।
पूर्व मुख्यमन्त्री समेत रहेका पाण्डेलेले भने,' सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिमा नेपाली कांग्रेस, प्रधानमन्त्रीमा माओवादी र जसपाले उपराष्ट्रपति पाएपछि चौथौँ ठूलो दल एकीकृत समाजवादीको पालो आएको छ । त्यो हिसाबले एक नम्बर प्राथमिकताको गृह मन्त्रालय रोज्नेछौँ ।'
पाण्डेले समाजवादीले गृहसहित तीन मन्त्रालयको दाबी गर्ने बताए । उनले भने,' गृहसहित तीन मन्त्रालयमा हाम्रो दाबी रहेछ ।'
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई वर्षे कार्यकालका लागि प्रधानमन्त्री भएको सुनाए । दुई वर्षपछि एसका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको उनले उल्लेख गरेका छन् ।