arrow

पर्यटक भित्र्याउन उद्देश्यले पञ्चासे जैविक विविधता पार्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
Park.jpg

पोखरा । कास्कीमा पर्यटक भित्र्याउने उद्देश्यले पञ्चासे जैविक विविधता पार्क निर्माण गरिने भएको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ स्थित टाँडीबिसौनीमा पार्कको प्रारम्भिक निर्माण कार्य सुरु हुने भएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माणाधीन पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थान बिन्दुमा पर्छ ।

अध्ययन, अवलोकन, भ्रमण र होमस्टे बसाइका निम्ति जाने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पार्कको अवधारणा ल्याइएको अन्नपूर्ण वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । 

५४ रोपनी क्षेत्रफल निर्धारण गरी पार्कको प्रारम्भिक निर्माण सुरुआत गरिसकिएको वडाध्यक्ष गुरुङले बताए । “हामीले निश्चित क्षेत्र छुट्याएर चौतारी, फुट ट्रयाक, घण्टी पोखरी, बगैँचा, बिसौनीस्थल निर्माण गरिसकेका छौँ”, उनले भने । 

अब त्यस क्षेत्रमा अन्य पूर्वाधार बनाउने योजना रहेको पार्क निर्माण समिति अध्यक्ष तथा पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नवराज पौडेलले जानकारी दिए । 

अब ढुङ्गेधारा, योगा मेडिटेसनस्थल, टि-सप, बोटानिकल गार्डेन, सांस्कृतिक घर, शौचालय, पानी फोहरा, कुटी, पाटीपौवा, सुटिङ स्टेसन, हर्बल गार्डेन, सुनाखरी बगैँचा, सुन्दर फोटो स्टेसनलगायत पूर्वाधार बनाउने योजना छ”, उनले भने, “पार्कको उत्कृष्ट पर्यटन पूर्वाधार विकास गरी पर्यटक भित्र्याउने लक्ष्य रहेको उनले सुनाए ।”

प्रसिद्ध धार्मिक, पर्यटकीय एवं सांस्कृतिक तीर्थस्थल पञ्चासेको पर्यावरणीय महत्त्व, जैविक विविधता र पर्यापर्यटन अभियान पार्कले सघाउ पुग्ने स्थानीय विजय गुरुङले बताए ।

पञ्चासेको मूलद्वारका रुपमा रहेको भदौरे क्षेत्रमा पर्यटक आवागमनमा वृद्धि गर्दै स्थानीयवासीको आयस्तर उकास्ने अभियान अघि बढेको गुरुङको भनाइ छ ।

पार्कको वैशाख १ गते उद्घाटन गरिने पार्क निर्माण समिति अध्यक्ष नवराज पौडेलले जानकारी दिए । नयाँ वर्षको अवसरमा पञ्चासे सुनाखरी पदयात्रा हाईकिङ्ग गर्ने पनि योजना रहेको उनले सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ