arrow

गठबन्धनमा सहभागी सबै दललाई उपप्रधानमन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
10party-meeting-gathabandhan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद विस्तारबारे गठबन्धन दलहरुसँग छलफल थालेका छन् । आफ्नो काँधमा भएका १६ वटा मन्त्रालयको भारी बिसाउन उनले चाँडै नै मन्त्रिपरिषद विस्तार गर्ने भन्दै गठबन्धन दलहरुसँग परामर्श थालेका हुन् ।
 
गठबन्धनमा सबै दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने हुँदा प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री माग्नेको संख्या बढ्न थालेको छ । पुस १० मा एमालेसहित सात दल सम्मिलित समीकरणमा ४ जना उपप्रधानमन्त्री थिए । 

तर अहिले कांग्रेस, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति र जनमत सबैले उपप्रधानमन्त्री मागिरहेका छन् । एमाले र रास्वपा बाहिरिएपछि हाल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मात्रै उपप्रधानमन्त्री छन् । 

उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री पनि हुन् । आठ दलमध्ये माओवादी केन्द्रले यसअघि नै उपप्रधानमन्त्री लिइसकेकाले बाँकी सात दलले पनि उपप्रधानमन्त्री मागिरहेका छन् । 

आठ दलमध्ये नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई उपप्रधानमन्त्री दिनुपर्ने बाध्यता छ । 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पनि उपप्रधानमन्त्री मागिरहेको छ । साथै रास्वपा पनि सरकारमा जान खोजिरहेकाले उसले पनि उपप्रधानमन्त्री माग गरिरहेको छ । 

यसअघि गृहमन्त्रालयसहित उपप्रधानमन्त्री रहेका रवि लामिछानेको सांसद पद नै खारेजीमा पुगेपछि उनी सरकारबाट बाहिरिएका थिए । ‘संसदमा  चार सिट रहेको नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरिसकेको छ,’ स्रोतले भन्यो । 

यसअघिको सात दलीय गठबन्धनमा एमालेबाट एक, रास्वपाबाट एक र राप्रपाबाट एक उपप्रधानमन्त्री थिए । पहिलेकै गठबन्धनमा रहेको र अहिले पनि गठबन्धनमा सहभागी भएको जनमत पार्टीले पनि उपप्रधानमन्त्रीमा दाबी गरिसकेको स्रोतले जनाएको छ ।   

जनमत पार्टीका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खाँले त उपप्रधानमन्त्रीसहित जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सरकारमा सहभागी हुने अभिव्यक्ति सार्वजनिक रूपमै दिइसकेका छन् । 

त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादव सांसद भएर उपप्रधानमन्त्रीमा आउने सम्भावना छ । जसपाले बारा २ का सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएपछि त्यहाँ उपनिर्वाचन हुँदैछ । 

सो क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव आफैँ उम्मेदवार हुँदैछन् । नेकपा एसले अहिलेको गठबन्धन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको मागदाबी गरेको छ । 

प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी सरकारमा सहभागी हुने धारणा राखे । ‘सरकारमा जान निर्णय भैसकेको छ त्यही अनुसार प्रचण्ड सरकारलाई विश्वासको मत दिइएको छ, त्यसकारण गृहसहित उपप्रधानमन्त्रीमा हाम्रो पार्टीको दावी छ’, नेकपा एसका प्रचार विभाग प्रमुख खतिवडाले भने । 

संसदमा नेकपा एसका १० सांसद छन् । अहिले संसदमा ३२ सिट भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ । संसदमा ८९ सिट भएको कांग्रेसले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिने सम्भावना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ