काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो ।
कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’ लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ । ‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक परिवारले आदर्श मान्न सक्ने कारको लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाइलको रुपमा आएको छ ।’
किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो । हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण गाडी पुरस्कार आईसीओटीवाईको १८औं संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको हो ।
कम्पनीकाअनुसार गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको छ । यसअघि सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ ।
कम्पनीले दाबी गर्दै भन्छ, ‘कारेन्सको सबैभन्दा उल्लेख्य विशेषतामध्ये एक यसका टेन रोबस्ट हाइ सेफ्टि प्याकेज हुन् जुन सबै भेरियेन्टमा स्ट्यान्डर्ड रुपमा आउँछन् । यसमा ६ ओटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर पर्छ ।’
यो दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध छ, एउटा ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० वीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटर । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ ।
कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । लक्जरी प्लस ट्रिममा स्टियरिङमा जडित प्याडल सिफ्टर पनि छ, जसले ७ स्पिड डीसीटी वा ६ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ ।
कम्पनी भन्छ, ‘कारेन्सका विशेषताहरुमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रूमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रो लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्टस, सिटपछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरु, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि पर्छन् । यसले कारमा आवश्यक पर्ने सबै स्पेस प्रदान गर्दछ । यो सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, २१६ लिटरको लगेज स्पेससहित आएको छ । तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६४५ लिटरसम्म बढाउन सकिन्छ ।’
कारेन्सको प्रिमियर १५०० डिस्प्लेसमेन्ट मूल्य ४८ लाख ९० हजार रहेको छ भने प्रेस्टिज १५०० को मूल्य ५२ लाख ९० हजार रहेको छ ।
कियाले नेपाली कारप्रेमीमाझ आफूलाई भरपर्दो र विश्वसनीय ब्रान्डको रूपमा स्थापित गरेको छ । कम्पनीले नेपाली बजारको विविध आवश्यकता पूरा गर्ने इनोभेटिभ, आधुनिक र स्टाइलिस्ट गाडीहरू निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ ।