arrow

गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
girija-prasad-koirala-final.jpg

काठमाडौं ।  नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
 
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । 

विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफँै मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।
 
कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बनेका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो । 
 
चार पटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यबाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो । 

बोलेको कुरा पुर्‍याउने राजनेताका रुपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १३औँ स्मृति दिवस मनाउँदै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ