arrow

नारायणकाजीलाई गृहको जिम्मा, अर्थ कांग्रेसलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १२ आइतबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौं । शनिबार माओवादी केन्द्रको पदाधिकारी बैठकले गृह मन्त्रालय जसरी पनि आफूसँगै राख्ने निर्णय गरेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको सरुवा हुने भएको छ । 

माओवादीले कुनै मानेमा गृह मन्त्रालय नछाड्ने निर्णयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्दा श्रेष्ठलाई गृहमा ल्याउने भएका हुन् । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले चैत ६ मा विश्वासको मत लिएसँगै नेपाली कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेपछि श्रेष्ठको सरुवा हुने भएको माओवादीका एक नेताले जानकारी दिए । 

नेकपा एकीकृत समाजवादीले गृह दाबी गरे पनि एसलाई गृह नदिने गरी अघि बढेको स्रोतले जनाएको छ ।  गठबन्धन दलमा मन्त्रालय संख्याको विषयमा मोटामोटी सहमति भइसकेको र त्यही अनुसार कांग्रेसले अर्थ र माओवादीले गृह बाँडफाँट गरेका हुन् । 

 माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘सोमबारभित्रै मन्त्रीपरिषद विस्तार हुनेछ’, गुरुङले भने । 

उनका अनुसार आइतबार साँझसम्म गठबन्धन दलहरुले यो विषयमा टुंगो लगाइसक्नेछन् । प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी रहेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।  

सत्ता गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी छलफल अघि बढेको छ । 

साझेदार दलका अन्य साना दललाई १–१ मन्त्रालय दिने बताइएको छ । त्यसमा नेकपा एसलाई एक राज्यमन्त्री दिने सहमति बनेको पनि स्रोतको दाबी छ । ‘पाँच वर्षभित्र नेकपा एसका सबै सांसद मन्त्री हुनेछन्’, एसका एक पदाधिकारीले भने । 

सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन भएकाले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले आज दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने भएका छन् । 

१२ बजे मन्त्रालयमा राखिएको पत्रकार सम्मेलनमा मन्त्रालयबाट भएका कामकारबाहीबारे ब्रिफिङ हुनेछ । कांग्रेसले अर्थ मन्त्रालय पाउने भएपछि गृह माओवादीले लिने भएको हो । 

यस्तो अवस्थामा माओवादीले भौतिक मन्त्रालय पाउने सम्भावना कम छ । सोही कारण श्रेष्ठको मन्त्रालय परिवर्तन हुने सम्भावना धेरै रहेको बताइएको छ । नेकपा एसले उपाध्यक्ष वेदुराम भुसाललाई सरकारमा पठाउने तयारी गरेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ